• ९ फागुन २०८१, शुक्रबार

‘दीर्घ रोगीको हेरचाहमा सरकारले अपनत्व लिनुपर्छ’

blog

कार्यक्रममा सहभागी र वक्ता ।

काठमाडौँ, फागुन ७ गते। निको नहुने तथा जीवन सीमित पार्ने दीर्घ रोगीलाई अन्तिम समयसम्म गरिने हेरचाहको सेवालाई तीनै तहका सरकारले अपनत्व लिनुपर्ने सरोकारवाला निकायको भेलाले निष्कर्ष निकालेको छ।

‘नेपालका सबै ग्रामीण क्षेत्रमा प्रशामक सेवाको पहुँचबाट कोही पनि नछुटोस्’ भन्ने नाराका साथ काठमाडौँमा आज सकिएको दुई दिने अन्तिराष्ट्रिय सम्मेलनमा सहभागीहरूले सरकार, समुदाय र सरोकारवाला निकायको सहभागिताबिना प्रशासमक सेवा दीर्घकालीन र प्रभावकारी हुन नसक्नेमा जोड दिएका हुन्। 

स्वास्थ्यको क्षेत्रमा क्रियाशील आईएनएफ नेपालको आयोजनामा भएको सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेशनाथ गोङ्गलले सङ्घीय सरकारले नै प्रशामक सेवा सम्बन्धी रणनीति परिमार्जन गरी यसको कार्यान्वयनका लागि मातहतका निकायलाई निर्देशन दिनुपर्ने बताउनुभयो। 

केही समयअघि मात्र आफूले यो सेवा विस्तार र निरन्तरताका लागि बागमती प्रदेश सरकारसँग सम्झौता गरिएको जानकारी दिँदै उहाँले सबै प्रदेशमा प्रशामक सेवाको सुरुवातका लागि सङ्घीय सरकारले नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो। 

प्रशासमक सेवामा लागेकाको सङ्गठन नेपलिज एसोसिएसन अफ प्यालेटिभ केयरका अध्यक्ष डा. विष्णुदत्त पौडेलले देशका  विभिन्न अस्पतालमा प्रशामक सेवाको सुरुवात गरिएको भए पनि यो सेवाको पहुँचमा ७७ जिल्लाकै विरामी रहून् भन्नका लागि तीनै तहका सरकारबी अझ बलियो रुपमा समन्वय हुन आवश्यक भएको औँल्याउनुभयो।

सम्मेलनमा आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले आफूहरूले सुनिता परियोजनामार्फत लम्जुङ, सुर्खेत र रुकुम पश्चिममा तीन वर्षभन्दा धेरै समय गरेको अभ्यासलाई स्थानीय तहका जनप्रतिनिधिबाट आगामी दिनमा उक्त कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आएको बताउनुभयो।

कार्यकारी निर्देशक अधिकारीका अनुसार सुनिता परियोजनामार्फत लम्जुङ, सुर्खेत र रुकुमपश्चिममा गरी करिब एक हजार स्वास्थ्यकर्मीलाई प्रशामक सेवाको तालिम दिइएको छ भने आइएनएफले पोखरामा सञ्चालन गरेको हरियो खर्क अस्पतालमा बालबालिकाकासहितको १४ शय्यासहितको समुदायमा आधारित प्रशामक सेवालाई एकीकृत गरी सर्वाङ्गिण प्रशामक सेवा सुरु गरिएको छ।

आइएनएफ नेपालले सञ्चालन गरेको सुनिता परियोजनाले गरेको अनुसन्धानले नेपालको कुल जनसङ्ख्याको तीन प्रतिशत अर्थात करिब ९ लाख नेपालीहरूलाई प्रशामक सेवा आवश्यक रहेको देखाएको छ। 

सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, आईएनएफ नेपाललगायतका निकायबाट  सञ्चालन गरिएको प्रशामक सेवा, सिकाइ र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षका बारेमा दर्जनभन्दा धेरै प्रस्तुति गरिएको थियो। 

प्रशासमक सेवा सञ्चालन गरेका जिल्लाका अस्पतालका चिकित्सक तथा अरु स्वास्थ्यकर्मीले आफ्नो अनुभव सुनाएका थिए। 

सम्मेलनमा बेलायत, अफ्रिका, भारत, मलावीलगायतका देशबाट प्रशामक सेवा विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए।