• ९ फागुन २०८१, शुक्रबार

जेठाजुको कुटपिटबाट बुहारी घाइते

blog

कुटपिटबाट घाइते आशाकुमारी महतो अस्पतालमा उपचार गराउनुहुँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, फागुन ७ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनमा फागुन ३ गते बुहारीमाथि जेठाजुले कुटपिट गरेको घटना बाहिर आएको छ । भाइको दुर्घटनामा परी मृत्यु भएको सात वर्षपछि मधुवन मेजर टोलका ३८ वर्षीय अरुणकुमार मेहताले बुहारीलाई कुटपिट गरेर घाइते बनाएको घटना बाहिर आएको हो ।

शनिवार मकै खेतमा पानी लगाउने क्रममा आफूलाई जेठाजु अरुणकुमार मेहताले आक्रमण गरेको २६ वर्षीया बुहारी आशाकुमारी महतोले बताउनुभयो । जेठाजुको कुटपिटबाट घाइते आशाको सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचार भइरहेको छ ।

जेठाजु मेहताले आफू नेपाली सेना भएकाले जे पनि गर्ने भन्दै धम्की दिँदै आएको आशाले बताउनुभयो ।

जेठाजु सेनामा कार्यरत रहेको र घरमा आएको बेला कुटपिट गरेर घाइते हुँदा अस्पताल भर्ना हुनुपरेको र आफू असुरक्षित भएको पीडित महिलाको भनाइ छ ।

यसैबिच पीडित महिलाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले मौखिक जानकारी आएको तर लिखित जाहेरी नआएको प्रतिक्रिया दिनुभयो ।

बहिनीलाई भएको अन्याय र ज्यान मार्ने प्रयाससम्मको घटना भएको भन्दै पीडितका दाजुले समेत प्रहरीलाई जाहेरी दिन तयारी भइरहेको छ ।