• ९ फागुन २०८१, शुक्रबार

बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन, फागुन ७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिनुभएको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी रहेका सबै ’बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएको छु ।”

ट्रम्पले भन्नुभयो, “हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनःस्थापित गर्नुपर्छ । अमेरिकाको स्वर्णयुगमा निष्पक्ष न्यायप्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ ! ”

सत्तासीन राष्ट्रपतिले आफ्ना पूर्ववर्तीले मनोनीत गरेका अमेरिकी न्यायाधिवक्ताका रूपमा चिनिने सङ्घीय अभियोजकहरूको स्थान लिनु सामान्य अभ्यास हो ।

देशको ९४ सङ्घीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरू छन् ।

अमेरिकी वकिलहरू प्रत्येक जिल्लामा शीर्ष सङ्घीय कानुन प्रवर्तन अधिकारी हुन् ।

गत नोभेम्बरमा भएको चुनावमा ट्रम्पको जितपछि डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएका पूर्व राष्ट्रपति बाइडेनले मनोनीत गरेका केही अमेरिकी वकिलले राजीनामा दिए पनि अधिकांशले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् ।

ट्रम्पले आफूमाथि अन्यायपूर्ण ढङ्गबाट मुद्दा चलाएको आरोप लगाउँदै आएको न्याय विभाग रिपब्लिकनले पदभार ग्रहण गरेदेखि नै व्यापक हलचलको निशानामा परेको छ र कैयौँ उच्चपदस्थ अधिकारीहरूलाई बर्खास्त गरिएको छ, पदच्युत गरिएको छ वा पुनः नियुक्त गरिएको छ।

बर्खास्त गरिएकामध्ये ट्रम्पविरुद्ध दुई वटा फौजदारी मुद्दा दायर गरेका विशेष सल्लाहकार ज्याक स्मिथको कार्यालयका सदस्यहरू पनि थिए ।

न्यूयोर्कका मेयर एरिक एडम्सविरुद्ध भ्रष्टाचारको आरोप हटाउन न्याय विभागले आग्रह गरेपछि ट्रम्पले नियुक्त गरेको न्युयोर्कको शक्तिशाली ‘साउदर्न डिस्ट्रिक्ट’का कार्यवाहक अमेरिकी महान्यायाधिवक्ताले गत साता राजीनामा दिएका थिए । रासस/एएफपी