• २५ फागुन २०८२, सोमबार

कास्कीमा तीन दलबाहेक सबै उम्मेदवारको जमानत जफत

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन २५ गते । प्रतिनिधिसभामा तीन निर्वाचन क्षेत्र रहेको कास्कीका सबै क्षेत्रमा तीन दलबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । फागुन २१ गते भएको निर्वाचनमा तीनै क्षेत्र ठूलो मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितेकोमा यहाँ नेपाली कांग्रेस र एमालेले मात्र जमानत जोगाएका छन् ।

सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम (जमानत) जफत हुने व्यवस्था छ । कास्की क्षेत्र नम्बर १ मा १७ जना, क्षेत्र नम्बर २ मा १७ जना र क्षेत्र नम्बर ३ मा १५ जनाको उम्मेदवारी परेकोमा ४० जनाको जमानत गुमेको हो । 

कास्कीमा नेपाली कांग्रेस र एमालेबाहेक अरुको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । “अरु दल र स्वतन्त्र उम्मेदवार गरी ४० जनाले १० प्रतिशतको सीमा कटाउन नसक्दा उनीहरूको जमानत जफत भएको छ,” उहाँले भन्नुभयो ।

कास्की क्षेत्र नम्बर १ मा रास्वापका खड्कराज पौडेल (गनेस) ३९ हजार आठ सय ८३ मतसहित विजयी बन्नुभयो । यहाँ नेपाली कांग्रेसका तिलकबहादुर रानाभाट (११ हजार दुई सय १४ मत) र नेकपा एमालेका वैनबहादुर क्षत्री (१० हजार ४ सय २९ मत)ले मात्र जमानत जोगाउनुभयो । नेकपा, राप्रपासहित अरु दलका १४ प्रतिस्पर्धीको जमानत जफत भएको छ । 

क्षेत्र नम्बर २ मा उत्तम पौडेल ३१ हजार नौ सय ११ मतसहित चुनिँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रश्मि आचार्य (सात हजार चार सय ९३ मत) र कांग्रेसका माधवप्रसाद बास्तोला (छ हजार पाँच सय मत)को मात्र जमानत जोगियो । राप्रपाका हेमजंग गुरुङ (एक हजार छ सय ४३ ) र नेकपाका हेमबहादुर थापा (एक हजार दुई सय ७६ मत) सहित यहाँ प्रतिस्पर्धा गरेका अरु १४ उम्मेदवारको जमानत जोगिएन ।

क्षेत्र नम्बर ३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार सात सय ५० मतसहित सांसद बन्नुभयो । यहाँ कांग्रेसका मनोज गुरुङले १२ हजार सात सय ८० मत र एमालेका दामोदर बैरागी सात हजार नौ सय छ पाएर जमानत जोगाउँदा १२ जनाको जमानत जफत भयो ।

कास्कीमा साना दल र स्वतन्त्र उम्मेदवारहरूको प्रभाव निकै कमजोर देखियो । जमानत जोगाउन नसक्ने धेरैजसो उम्मेदवारले एक प्रतिशतभन्दा पनि कम मत पाएका छन् ।