काठमाडौं, फागुन ७ गते । सञ्चारसचिव राधिका अर्यालले प्रमुख सञ्चारमाध्यमहरुमा महिला राजनीतिकर्मी, महिला पत्रकार तथा महिलाका मुद्दा मुखरित हुन नसक्नुका कारणहरु खोजेर त्यसमा समाधानसहितको पत्रकारिताका लागि जोड दिनुभएको छ ।
राजनीति, परराष्ट्र मामिला तथा अन्य सामाजिक मुद्दाहरुमा महिला नेतृत्व निर्णायक तहमा हुँदा केही समाचार आउने र नहुँदा ठप्पै हुने प्रवृत्ति सही नभएको उहाँले प्रष्ट पार्नुभयो । काठमाडौंमा मङ्गलबार साँझ मिडिया एडभोकेसी ग्रुपले आयोजना गरेको महिला पत्रकारका लागि राजनीतिक तथा परराष्ट्र मामिला रिपोर्टिङको अनुभव आदानप्रदान एवम् सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मी विषयमा गरिएको सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सञ्चारसचिव अर्यालले यो वा उ बहानामा महिलाका विषय नउठाइनु सञ्चारमा गलत पवित्तिको अभ्यास भएको बताउनुभयो ।
महिलाको सहभागितामूलक समाचार आजको आवश्यकता भएकाले सरकारी अखवार गोरखापत्रसहित सबै सञ्चारमाध्यमले भविष्यमा महिला सहभागिता झल्कने सञ्चार सामग्री प्रसस्त गर्ने उपाय अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
म्यागले गत वर्षको अन्तिम तथा यस वर्षको सुरुवाती महिनासम्मको प्रमुख छापामाध्यममा गरेको अध्ययन अनुसार महिला राजनीतिकर्मीको उपस्थिति अत्यन्त न्यून पाइएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अनिता बिन्दुले समाचार र त्यसको विषयवस्तुमा महिला सहभागितालाई बढावा दिन थप पहलको आवश्यकता रहेको औँल्याउनुभयो ।
प्रतिवेदन अनुसार सात वटा प्रमुख छापाहरुमा दुई महिनामा एक हजार छ वटा समाचार सामग्री प्रकाशन भएकामा एकसय १५ वटामात्र महिला राजनीतिकर्मी सम्बद्ध रहेको पाइएको थियो । सो आँकडा अनुसार ११.४३ प्रतिशत स्थानमात्र महिला राजनीतिकर्मीको प्राप्त गर्न सकेका थिए । यस पटक गोरखापत्र दैनिकमामा सो दुई महिनामा जम्मा १२ प्रतिशतमात्र महिला राजनीतिकर्मीका समाचार प्रकाशन भएका थिए ।
गोरखापत्र दैनिकमा सम्पादकीय तथा विचारतर्फ महिलासम्बन्धी लेखको शून्य अवस्था रहेको पाइएको छ । नयाँ पत्रिकाले सबैभन्दा बढी २४ प्रतिशत समाचार महिला राजनीतिकर्मीका प्रकाशन गरेको पाइएको थियो । अन्नपूर्ण पोस्टमा १७ प्रतिशत, दि राइजिङ नेपालमा १५ प्रतिशत, नागरिक दैनिकमा १३ प्रतिशत, काठमाडौं पोस्टमा ११ र कान्तिपुर दैनिकमा ८ प्रतिशत महिला राजनीतिकर्मीका समाचार छापिएका थिए । राजनीतिक तथा परराष्ट्र मामिलासम्बन्धी समाचारको प्रकाशन पहिलो पानामा ६० प्रतिशत रहे पनि महिला सम्बद्ध समाचार न्यून रहेको पाइएको थियो ।
सोही कार्यक्रममा राजनीति र परराष्ट्र मामिलामा महिलाको सहभागिता विषयमा भएको प्रशिक्षणको समीक्षा गरिएको थियो । प्रशिक्षणपछि महिला पत्रकारहरुले लेखेका समाचारहरुको विश्लेषणसहित अनुभव आदानप्रदान गरिएको थियो । देशभरका ८१ जना महिला पत्रकारलाई समाचार लेखन प्रशिक्षणमा पब्लिक सर्भिस ब्रोडकास्टिङका अध्यक्ष डा.महेन्द्र बिष्ट, वरिष्ठ पत्रकार हरिबहादुर थापा, प्रकाश रिमाल, बबिता बस्नेतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा क्यानडा उच्चायोगका प्रथम सचिव इयान ट्रिटिजले महिला पत्रकारलाई थप सक्षम र सबल बनाउन सके महिला राजनीतिकर्मी र परराष्ट्र मामिला लेखनको बढोत्तरी हुने औँल्याउनुभयो । उहाँले नेपाल क्यानडा विविध सहकार्यसँगै सञ्चारमा महिला सहभागिता बढाउन आगामी दिनमा पनि थप सहकार्य गरिने जानकारी दिनुभयो ।
पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महिला पत्रकारलाई अवसरसँगै निरन्तर उर्जाको आवश्यकता रहेको बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले वर्तमान समयमा पत्रकार महासङ्घकै अध्यक्ष महिला निर्वाचित भएकाले पनि अबका दिनमा महिला पत्रकारको अवस्था र लेखनीमा थप सुधार हुने आशा व्यक्त गर्नुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले महिला पत्रकारका अनेक चुनौती रहेको औँल्याउँदै त्यसका वावजुद पनि सक्रिय रहने वातावरण बनाउन सञ्चारमाध्यमले जोड दिनुपर्ने बताउनुभयो । पब्लिक सर्भिस ब्रोडकास्टिङका अध्यक्ष डा. महेन्द्र बिष्ट, वरिष्ठ पत्रकार हरिबहादुर थापा र प्रकाश रिमालले महिला पत्रकारको लेखनी बलियो बनाउन यस्त प्रशिक्षणले बल पुर्याउने धारणा राख्नुभयो ।
सहभागी पत्रकारका तर्फबाट गोरखापत्रकी परराष्ट्र मामिलामा सक्रिय पत्रकार चाँदनी हमालले लेखनीको अनुभव सुनाउनुभएको थियो ।