• ९ फागुन २०८१, शुक्रबार

सेवा विविधिकरणले राससको औचित्य थप स्थापित भएको छः प्रधानमन्त्री

blog

काठमाडौँ, फागुन ७  गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राससको सेवा विविधिकरणले यसको औचित्य थप स्थापित हुँदै गएको बताउनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा राससमा आबद्ध व्यवस्थापक, पत्रकार/कर्मचारी तथा सम्बद्ध सेवाग्राहीमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले यसको कानुनी र संरचनात्मक सुधार एवं थप श्रीवृद्धिका लागि गर्नुपर्ने सहजीकरणका लागि सरकारले आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाउनुभएको छ । 

प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा सत्यतथ्य, विश्वसनीय, आधिकारिक र भरपर्दो समाचारका माध्यमबाट आमजनतालाई सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्दै गएको महसुस भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “सूचना–प्रविधिको व्यापकतासँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा राससले आरम्भ गरेको श्रव्यदृष्य सेवा, मातृभाषा समाचार सेवा, सांसदसँग रासस संवाद, आलेख÷विचार आदि सेवाको विविधिकरणका कार्यले यसको औचित्य थप स्थापित हुँदै गएको मान्न सकिन्छ ।” 

मुलुकको हरेक राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा एक साक्षीका रुपमा राससले विगतदेखि खेल्दै आएको भूमिकालाई वर्तमान समय सुहाउँदो बनाउनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले राससले सेवा प्रवाहमा छिटो छरितोपना, व्यावसायिकता र गुणस्तरीयता कायम गर्दै आमजनता र सरकारबीच सेतुको भूमिका निर्वाहमा आफूलाई अझै अब्बल सावित गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । 

“भ्रामक र मिथ्या सूचना–समाचारले समाजमा एक प्रकारको विद्वेष र विवाद सिर्जना गरी सामाजिक अराजकता र अस्थिरता मच्याउने कोसिस भइरहेका सन्दर्भमा त्यसलाई चिरेर जनतालाई सही सूचना प्रवाह गर्न रासस जस्ता समाचार संस्थाले आफूलाई अग्रणी रुपमा प्रस्तुत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभएको छ । 

प्रधानमन्त्री ओलीले अहिलेको सरकार विकास, समृद्धि र स्थिरताका लागि बनेको प्रष्ट पार्दै सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाएको उल्लेख गर्नुभएको छ । “यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो । अघिल्लो पटक सुरु भएका विकास निर्माणका काम अहिले अगाडि बढिरहेका छन्”, उहाँले भन्नुभएको छ । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान रहेको प्रष्ट पार्दै उहाँले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहार सिद्ध रहेको बताउनुभएको छ । 

प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्ने गरी जिम्मेवार भूमिका खेल्न सक्नुपर्ने उहाँको भनाइ छ । “अहिलेको सरकारले राष्ट्रको अभिभारा पूरा गर्ने गन्तव्य निर्धारण गरेको छ, यस उद्देश्यलाई प्राप्त गर्न हामी स्पष्ट दूरदृष्टि, तदअनुसारका नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ”, उहाँले भन्नुभएको छ । 

राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अघि सारेको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस अभियानलाई जनसमक्ष विस्तार गर्न राससले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । रासस