• ९ फागुन २०८१, शुक्रबार

फागुन ७ सुनौलो बिहानी बोकेको दिन हो : प्रमुख देवकोटा

blog

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा ।

गोरखापत्र अनलाइन 

काठमाडौं, फागुन ७ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रजातन्त्र दिवस २०८१ को अवसरमा देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख देवकोटाले आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्राणको आहुती गर्ने वीर सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

प्रमुख देवकोटाले सन्देशमा भन्नुभएको छ, "रास्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अबसरमा बागमती प्रदेश, देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । स्वतन्त्रता र रास्ट्रहितका खातिर आफ्नो प्राणको आहुती दिने वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।"

नेपालको इतिहासमा २००७ फाल्गुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको उहाँले चर्चा गर्नुभएको छ । निरंकुशताविरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल भएको आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन भएको उहाँको भनाइ छ ।

प्रमुख देवकोटाले भन्नुभएको छ, "फाल्गुन ७ को जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । आजको दिनले इतिहासको यो गौरवशाली समयबिन्दुलाई पुनर्ताजगी गराइ रास्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न हामी सबैलाई प्रेरित गर्दछ ।"

स्वतन्त्र र समतामूलक समाज निर्माणमा अघि बढ्न आजको दिनले हामी सबैलाई थप प्रेरणा र हौसला दिने विश्वास गर्नुहुँदै प्रमुख देवकोटाले शुभकामना व्यक्त गर्नुभएको छ ।