• ७ वैशाख २०८२, आइतबार

कार्यसम्पादन मूल्याङ्कनमा महाशीला गाउँपालिका पहिलो

blog

पर्वतको महाशीला गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन ।

प्रनिश गिरी

कुश्मा-पर्वत, फागुन ६ गते । स्थानीय तह कार्यसम्पादनमा पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये दक्षिणी भेगमा पर्ने महाशीला गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको नतिजा अनुसार ७३.६ अङ्क प्राप्त गरी महाशीला गाउँपालिका जिल्लामै पहिलो हुन सफल भएको हो ।

गतवर्ष पनि पहिलो स्थान ओगटेको महाशीलाले यस वर्ष पनि निरन्तर पहिलो स्थान नै लिन सफल भएको हो । त्यसैगरी जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका ७०.१ अङ्क प्राप्त गरी दोस्रो बनेको छ भने कार्यसम्पादन मूल्याङ्कनमा ६४.७ अङ्क प्राप्त गर्ने कुश्मा नगरपालिका तेस्रो रहेको छ । चौथोमा फलेवास नगरपालिका ६०.६ अङ्क, पाँचौ मोदी गाउँपालिका ५९.९ अङ्क, छैठौ पैयुँ गाउँपालिका ५८.८ अङ्क र अन्तिम सातौंमा पर्ने विहादी गाउँपालिकाले ५४.८ अङ्क प्राप्त गरेका छन् । 

जिल्लाका दुई नगरपालिकालाई पछि पार्दै भौगोलिक हिसाबले दुर्गममा रहेका गाउँपालिकाहरु महाशीला र जलजला पहिलो र दोस्रो बनेका हुन् । 

आयोगका अनुसार प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गरेको हो । जसअन्तर्गत स्थानीय तहले आफ्नो अधिकार क्षेत्रको राजस्व परिचालन गरेको अवस्था, असार मसान्तभित्र बजेट पारित गरे नगरेको, आयव्ययको प्रक्षेपण 

पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, स्थानीय तहको गत आ.वमा विनियोजित रकम अनुसार खर्चको अवस्था, असार १० गतेभित्र बजेट पेश गरे नगरेको, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र प्रयोग भए नभएको लगायत सूचकका आधारमा मूल्याङ्कन गरिएको छ। वित्त आयोगले वित्तीय अनुदान दिदा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको अङ्कलाई आधार मानिने हुन्छ । 

कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुने महाशीला गाउँपालिकाका सूचना अधिकारी नर बहादुर बरालले बेरुजु रकम घटाउनु, आयव्यय विवरण समयमा सम्वन्धि निकायमा समयमा बुझाउने गरेको, संघीय तथा प्रदेश सरकारले दिइएका योजना र कार्यक्रम समयमा सम्पन्न गरी कागजातहरू पूरा गरी पठाइने साथै स्थानीय ऐनहरू जस्तो शिक्षा, स्वास्थ्य, पशु, रोजगार कार्यक्रम, कृषि ऐन बनाइ गाउँसभाले पारित गरी ऐन अनुसार टेकेर काम गरेको लगायतका कारण पालिका पहिलो भएको हुनुपर्छ । 

विहादी गाउँपालिकाका प्रशासकीय अधिकृत राम प्रसाद शर्माले कार्यसम्पादन मूल्याङ्कनमा अन्तिममा परेपछि पुर्नमूल्याङ्कनका लागि विवरणहरू पठाउने बताउनुभएको छ । केही विवरणहरू जस्तो राजस्व सङ्कलन, विनियोजित रकम अनुसार खर्च विवरण र आर्थिक वर्षको कुल लेखापरीक्षण रकम नै फरक परेका कारण कार्यसम्पादन मूल्याङ्कनमा अन्तिममा परेको दाबी प्रशासकीय अधिकृत शर्माको छ । 

अधिकृत शर्माका अनुसार विवरण सच्चिएर आउँदा पालिका अहिले जस्तो अन्तिममा नपर्ने बताउनुभयो ।