• ८ वैशाख २०८२, सोमबार

किसानलाई अनुदानमा १५ सय ओखारका बिरुवा

blog

रामकृष्ण बोहरा

बागलुङ, फागुन ६ गते । बागलुङ नगरपालिका ९ तित्याङस्थित जुरेढुंगा कृषक समूहमा आवद्व किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ओखरका बिरुवा वितरण गरिएको छ । समूहले स्थानीय किसानको जग्गा एकीकृत गरेर ओखर खेती गर्न १ सय ४० रोपनी जमिनमा ओखर खेती गर्ने तयारी गरेपछि नगरपालिकाले बिरुवा ल्याएको हो । 

पछिल्लो समय बसाइसराइले गाउँबस्ती रित्तिदै गएपछि किसानले उजाडिएको बारी र जंगल फाँडेर ओखर खेती गर्ने तयारी गरेको जुरेढुंगा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताउनुभयो । १ हजार ६ सय मीटरदेखि ३ हजार मीटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा पनि लगाउन सकिने भएकोले जुम्लाबाट झिकाइएको बागलुङ नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिनुभयो ।  

चालु आर्थिक वर्ष नगरपालिकाले विनियोजन गरेको १२ लाख रुपैयाँबाट ओखर लगायत अन्य साझेदारीको बिरुवा उत्पादन र बितरणको काम भएको हो । प्रतिबिरुवा ३ सय २० रुपियाँ पर्ने ओखरको माग बढीरहेको बरुवालले बताउनुभयो । तित्याङमा यसअघि पनि ओखरको व्यवसायिक खेती भैरहेको छ । 

यसअघि बागलुङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग लिएर तित्याङका किसानले व्यवसायिक रुपमा ओखर खेती थालेका थिए । चालु वर्ष किसानको समूहमा ५० प्रतिशत अनुदानमै लगानी भएको हो । तित्याङकै डोयमा स्थानीय कृष्णबहादुर खड्का र देवबहादुर खड्काको सहकार्यमा ४ सय ओखरका बिरुवा रोपिएको छ । नगरपालिकाले डोयमा ब्लुहिल पर्यटकीय क्षेत्र बनाउँदै छ।

ओखरका बिरुवा माघको १५ देखि फागुन १५ गते सम्ममा लगाइसक्दा राम्रो हुने भएपछि सोही अनुसार रोप्ने तयारी समूहको छ । किसानलाई व्यावसायिक बनाउने ओखर बढी महत्वपूर्ण भएकाले त्यसतर्फ आर्कषित गर्ने नगरको योजना छ । बागलुङ नगरपालिका ७ स्थित सूर्यनन्द एकीकृत कृषि फर्मले पनि ओखरको माग गरेको प्रविधि बरुवालले बताउनुभयो । उत्पादनमा जोडिने किसानका लागि अनुदानका कार्यक्रमसँगै जाने गरी नगरपालिकाले बजेटको समेत व्यवस्थापन गरेको छ ।