• ८ वैशाख २०८२, सोमबार

संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय

blog

राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै । तस्बिर: न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन ६ गते । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भई रहेको बताउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सदस्य रोकायले परिवर्तनका लागि लड्नेहरूसँग कुनै साइनो नभएका व्यक्तिहरु संविधानमाथि प्रहार गर्दै राष्ट्रियसभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताउनुभयो । उहाँले संविधान र व्यवस्थामाथि प्रहार भई रहेकोले सबै राजनीतिक दलहरू गम्भीर बन्न समेत उहाँले आग्रह गर्नुभयो ।

‘‘जसले तीन तीन पाटक जनआन्दोलन गरेर यो मुलुकमा परिवर्तन ल्यायो । चाहे २००७ सालको आन्दोलन होस् । चाहे ०४६ सालको आन्दोलन होस्, चाहे ०६२/६३ सालको आन्दोलन होस् । त्यो आन्दोलनबाट प्राप्त जुन संविधान छ । त्यो संविधानबाट हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौं । आज यसमा कुनै साइनो नभएका व्यक्तिहरूले संविधानमाथि प्रहार गर्नेगरी राष्ट्रिय सभाको जुन गरिमा छ ।,’’ सदस्य रोकायले भन्नुभयो, ‘‘यस गरिमालाई कमजोर बनाउने गरी जुन खालका प्रवृतिहरू आएका छन् । यसमा हामी गम्भीर हुनुपर्दछ । मुलुकको परिवर्तनका निम्ति जुन जुन दलहरू सहभागी भयौं सबैले एकताबद्ध भएर यो संविधानलाई रक्षा गर्नका लागि आग्रह गर्न चाहन्छु ।’’

उहाँले संविधान र लोकतान्त्रि व्यवस्थाको सुदृढीकरण जरुरी रहेको बताउनुभयो ।