गुणबहादुर रोका
सुलीकोट, फागुन ६ गते । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङकोटका महिला कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीको घार र बङ्गुरको पाठा वितरण गरिएको छ ।
वडाभित्र रहेका विपन्न महिला कृषकलाई वडाको विपन्न महिला आयआर्जन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीसहितको घार र बङ्गुरको पाठा वितरण गरिएको हो ।
विपन्न महिलाहरुको आयआर्जन कार्यक्रम अन्तर्गत वडा कार्यालयले १५ दिने सूचना निकालेर आवेदन माग गरेका थियौं, वडा अध्यक्ष शरण श्रेष्ठले भन्नुभयो, “आवेदन परेकामध्ये छनाेट गरेर १९ जनालाई मौरीको घार र २३ जनालाई बङ्गुरको पाठा वितरण गरिएको छ ।”
वडाभित्रका विपन्न महिलाहरुले मौरीको घारका लागि ३५ जनाको आवेदन परेको थियो भने बङ्गुर पालनका लागि ३१ जना महिला कृषककाे आवेदन परेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निवेदन दिएका तर छनाेट हुन नसकेका २४ जना विपन्न महिला कृषकका लागि वडा कार्यालयले मौरी पालक कृषक र बङ्गुर पालक कृषकका लागि वडा कार्यालयबाट आगामी वर्ष बजेट बढाएर वडाभित्रका महिला कृषकलाई आत्मनिर्भर र व्यवसायीमुखी कृषक बनाउने वडा कार्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
मङ्गलबार वडा कार्यालयमा जनप्रतिनिधि रोहबरमा एक कार्यक्रमका बिच मौरीको घार र बङ्गुरको पाठा वितरण गरिएको हो । विपन्न महिला आर्यआर्जन कार्यक्रमका लागि वडा कार्यालयले २ लाख रुपियाँ बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।