यदुप्रसाद भट्ट
मनाङ, फागुन ६ गते । स्थानीय तह कार्यसम्पदानमा मनाङका ४ पालिकामध्ये सबैभन्दा विकट नार्पाभूमि गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको अन्तिम नतिजाअनुसार नार्पाभूमि गाउँपालिका ७३ अङ्क प्राप्त गरी जिल्लाको पहिलो भएको हो ।
विगत वर्षहरुमा अन्तिम बनेको नार्पाभूमि यसवर्ष पहिलो बनेको हो । त्यसैगरी दोस्रो भएको मनाङ ङिस्याङ गाउँपालिकाले ५९.२ अङ्क ल्याएको छ । त्यस्तै तेस्रो भएको चामे गाउँपालिकाले ५६.४ अङ्क प्राप्त गरेको छ ।
विगत दुई वर्षदेखि कार्यसम्पादन मूल्याङ्कन आफूलाई अब्बल सावित गर्दै आएको चामेको नतिजा यसपालि खुम्चिएर तेस्रोमा झरेको छ । आयोगले सार्वजानिक नतिजा अनुसार नासोँ गाउँपालिकाले ४८.१ अङ्क प्राप्त गरी चौथो वा अन्तिम बनेको छ । विगतमा दोस्रोमा रहेको नासोँको पनि यसपालि नतिजा उल्टिएर अन्तिममा परेको हो ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे नगरेको, असार मसान्तभित्र बजेट पारित गरे नगरेको, आय–व्यायको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजानिक गरे नगरेको, विनियोजित रकमअनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र प्रयोग भए नभएको जस्ता सूचकका आधारमा मूल्याङ्कन गरिएको छ ।
त्यसैगरी स्वास्थ्य र शिक्षालाई पनि मुख्य सूचकका रूपमा लिँदै गर्भवती महिलाको चारपटक गर्भ जाँच गरेको महिलाको अनुपात, पूर्ण खोप लगाएका बालबालिका र शिक्षामा सामुदायिक विद्यालयमा कक्षा १० मा १.६ भन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी कक्षा ८ भन्दा बढी कक्षा ९ मा विद्यार्थी टिकाउ दरलगायतका सूचकहरू रहेका छन् ।
वित्त आयोगले वित्तीय अनुदान दिँदा स्थानीय तहको कार्यसम्पादनलाई पनि हेरेर सिफारिस गर्नका लागि कार्यसम्पादन मूल्याङ्कन हेर्ने गरिएको छ । हाल भएको उपलब्धिलाई रक्षा गर्दै आगामी दिनहरूमा आयोगले तोकेका सबै सूचकलाई केन्द्रमा राखेर अघि बढ्ने योजनामा गाउँपालिका रहेको नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले जानकारी दिनुभयो ।
विकट हिमाली भाग, थोरै जनसंख्या, पालिका केन्द्र पुग्नै नै दुई दिनको पैदल यात्राका वावजुद पनि सबै कर्मचारी साथीहरुको अथक् मिहिनेत र प्रयासले कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको सूचना अधिकारी पाख्रिनले बताउनुभयो ।