• १८ जेठ २०८२, आइतबार

थासाङ क्षेत्रमा हराएको विमान खोज्दै सेनाको हेलिकोप्टर

blog

तस्बिर : नवीन शिशिर

काठमाडौं, जेठ १५ गते । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाका पूर्व अध्यक्ष बुद्धिप्रसाद शेरचनका अनुसार, यस क्षेत्रमा तारा एयरको विमान हराएको कुरा आएको छ तर यहाँ नै छ भनेर भन्ने ठोस जानकारी प्राप्त भएको छैन ।

यस गापको वडा नं. १ को टोक्से, २ को कोबाङ, ३ को लेते, वडा नं. ४ को घासा र ५ को कुन्जो क्षेत्रमा खोजी गरिएको छ ।

पूर्व अध्यक्ष शेरचनले भन्नुभयो, हामीले पनि माथि लेकमा चौरीखर्कमा रहेका व्यक्तिहरूसँग सम्पर्क गरेका छौं, त्यताबाट केही खबर आएको छैन । पोखराबाट आएको विमान कालीगण्डकी नदीको किनार माथिबाट उड्ने भएकाले यस क्षेत्रलाई लक्षित गरी खोजी गरिएको उहाँले बताउनुभयो ।

पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराइरहेको तारा एयरको जहाज खोजीका लागि पोखरा विमानस्थलमा तयार अवस्थामा राखिएका उद्धार सामग्री तथा सुरक्षाकर्मी  । तस्बिर : रासस

शेरचनले भन्नुभयो, ‘‘यहाँ पानी त परेको छैन तर बादल लागेकाले माथि हिमाली क्षेत्रमा जान सक्ने अवस्था छैन, विमान निकै माथिबाट उड्ने भएकाले यो क्षेत्रमा नभएर अर्कै क्षेत्रमा पुगेको पनि हुन सक्छ । मुस्ताङ जिल्लाकै कुनै क्षेत्रतर्फ गएको हुन सक्छ ।’’

यसैगरी, सोही गापाका पूर्व उपाध्यक्ष बालकुमारी शेरचनले नेपाली सेनाको हेलिकोप्टरले कोबाङ क्षेत्रको हवाई निरीक्षण गरेर फर्केको छ । उहाँले भन्नुभयो, ‘‘मेरा साथीहरूले बिहान १० बजेतिरको समयमा धौलागिरी हिमालको क्षेत्रमा सो विमान उडेको देखेको सुनाएका छन् ।’’

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको थियो । उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात् उक्त जहाज सम्पर्कविहीन भएको थियो ।