• २८ फागुन २०८१, बुधबार

अध्यक्षका लागि पाँच जनाको नाम सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ६ गते । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जना छानिएका छन् । अर्थ मन्त्रालयले प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जनाको नाम छोटो सूची प्रकाशन गरेको हो ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिएका १२ जनामध्ये पाँच जनाको नाम प्रकाशन गरेको हो । समितिका अनुसार कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई अन्तर्वार्तामा बोलाएको छ ।

सर्टलिस्टमा परेका पाँचै जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि फागुन १० गते अर्थ मन्त्रालयमा बोलाइएको छ । छोटो सूचीमा परेका रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत हुनुहुन्छ भने चापागाईं साबिक बिमा समितिका पूर्वअध्यक्ष हुनुहुन्छ । बसौला स्वास्थ्य बिमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ भने रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ । पुडासैनी कृषि विकास बैङ्कको अध्यक्षसमेत हुनुहुन्छ । ओझा अध्यापक हुनुहुन्छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते १५ दिनको समय तोकेर विज्ञापन खुलाएकामा १२ जनाले आवेदन दिएका थिए । यसअघि प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेका सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते मुद्दा दायर भएपछि मङ्सिर अन्तिम साता निलम्बनमा परेपछि अध्यक्ष पद रिक्त छ । यद्यपि सिलवालको कार्यकाल माघ १९ मा सकिँदै थियो ।