गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ६ गते । सरकारले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी धादिङदेखि चितवनसम्म राजमार्गमा पर्ने होटेल, खाद्य पसल र मिठाई पसलको अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यवस्तु बिक्री गरेको पाँच वटा फर्मलाई जरिबाना गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा स्थानीय प्रहरीसमेतको संलग्नता र सहकार्यमा ४० वटा अनुगमन गरेर कैफियत भेटिएकालाई पाँच व्यापारिक फर्मलाई न्यूनतम ५० हजार र बढीमा दुई लाख १० हजार रुपियाँसम्म जरिबाना गरेको हो ।
विभागले माघ ३० देखि फागुन ३ गतेसम्म धादिङ तथा चितवन क्षेत्रमा होटेल, रेस्टुरेन्ट, खाद्यवस्तु पसल, मिठाई पसल र तरकारी तथा फलफूललगायत विभिन्न खाद्य पदार्थका नमुना सङ्कलन तथा परीक्षण गरेको थियो । अनुगमनका क्रममा रोराङ गाउँपालिका, धादिङको सिटी स्टोर्स, हिल टप रेस्टुरेन्ट र त्रिशूली रिभर साइडको होटेल तथा रेस्टुरेन्टमा उपभोग्य मिति समाप्त भएका मरमसला, रोटी, घिउलगायतका खाद्य वस्तु प्रयोग गरी खाना पकाउने गरेको पाइएकाले प्रत्येकलाई ५० हजार रुपियाँका दरले जरिबाना गरेको विभागले जनाएको छ ।
विभागका निर्देशक मोहनकृष्ण महर्जनले अनुगमनमा भेटिएका म्याद गुज्रिएका खाद्यवस्तु तथा पेय प्रदार्थ नष्ट गरेको जानकारी दिनुभयो । यस्तै भरतपुर दासढुङ्गास्थित अशोका रिसोर्टले पनि उपभोग्य मिति समाप्त भएको मरमसला प्रयोग गर्ने गरेको पाइएपछि एक लाख रुपियाँ जरिबाना गरिएको छ । यस्तै मनकामना दर्शन नामक होटेलमा पनि उपभोग्य मिति समाप्त भएको प्रशोधित दुध भेटिएकाले दुध जफत तथा नस्ट गरी दुई लाख १० हजार रुपियाँ जरिबाना गरिएको विभागका निर्देशक महर्जनले जानकारी दिनुभयो ।