गोकर्ण पौडेल
तुलसीपुर, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर उपमहानगरपालिका वडा १२ स्थित टरिगाउँ धावनमार्ग विस्तारका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
सोमबार धावनमार्ग निरीक्षण गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्राविधिकले तयार पारेको विस्तृत विवरण प्रतिवेदनअनुसार धावनमार्ग विस्तार गरिने बताउनुभयो । नेकपा (एमाले) दाङले आयोजना गरेको सभालाई सम्बोधनका क्रममा दाङ आउनु भएका प्रधानमन्त्री ओलीले धावनमार्गको निरीक्षण गर्नुभयो । सो अवसरमा एमाले महासचिव एवम लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको समेत उपस्थियति थियो ।
निरीक्षणका क्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले धावनमार्ग विस्तारका लागि कपास विकास समितिको जग्गासमेत उपयोगमा ल्याउन प्रक्रिया पूरा गरेको जानकारी गराउनुभयो ।
२०११ सालमा सञ्चालनमा आएको टरिगाउँ विमानस्थल यस क्षेत्रकै पुरानो विमानस्थल हो । धावनमार्ग विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार विकल्पसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । पहिलो विकल्पमा हालको सातसय ५० मिटर लामो कालोपत्रे गरिएको धावनमार्गलाई एक हजार २३० मिटरमा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
विस्तारका लागि करिब ५७ बिघा जग्गा आवश्यक पर्ने बताइएको छ । जसमा ३० बिघा सञ्चालनमा रहेको विमानस्थल क्षेत्र, १२ बिघा सामुदायिक वन, १.२ बिघा अधिग्रहण गर्नुपर्ने जग्गा र ४.८ विघा सार्वजनिक जग्गा समावेश छ । यो परियोजनाको अनुमानित लागत ६ अर्ब १५ करोड ११ लाख ५४ हजार ८ सय रुपियाँ रहेको छ ।