गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ५ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संवेदनशील विषयमा सामाजिक सञ्जालमा गलत भाष्य नबनाउन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरित गाली संस्कृति हुर्किएको भन्दै उहाँले तथ्यसहितका सिर्जनात्मक सामग्री सम्प्रेषण गर्न सुझाव दिनुभएको छ ।
‘नभएका कुरा जोड्जाड नगरी, भएका तथ्यपरक, सिर्जनात्मक र आशाको सञ्चार जगाउने सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्न उपयुक्त हुन्छ’, सामाजिक सञ्जालमा नकरात्मकतालाई प्रसय दिन नहुनेतर्फ सजग हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले सो आग्रह गर्नुभएको छ ।
‘ुगालीगलौज र अश्लील भाषा, हिंसा, द्वेस फैलाउने, मनमुटाव बढाउने, जातजाती, धर्म, रीतिरिवाज र संस्कृतिबिच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ’, बस्नेतले भन्नुभएको छ ।
उहाँले नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति भित्र नपर्नेतर्फ सजग गराउँदै आफ्नो संस्कृति आफै मिचेर बलवान नहुनेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
पछिल्लो समय बेलुन दुर्घटना भई जलनमा पर्नुभएको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका कतिपय नकारात्मक सामग्रीप्रति लक्षित गर्दै अध्यक्ष बस्नेतले त्यसो गर्नु गलत भएको बताउनुभएको छ ।
‘जलन दुर्घटनाजस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो’ उहाँले भन्नुभएको छ ।