• ८ मंसिर २०८१, शनिबार

घोडाघोडीमा असुरक्षा बढ्दै, स्थानीयद्वारा सुरक्षा माग

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ १५ गते । जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दिन प्रतिदिन असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले सरकारसँग सुरक्षा व्यवस्था माग गरेका छन् । 

करिब २७ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै उक्त क्षेत्रमा दिउँसै लुटपातका घटना हुन थालेपछि सुरक्षा चुनौति बढ्दैगएको स्थानीयको भनाई छ । 

घोडाघोडी सामुदायिक वनका अध्यक्ष दिपक शाहले महेन्द्र राजमार्गसँग जोडिएको घोडाघोडी ताल धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा हिजोआज मदिराजन्य पदार्थ विक्रिवितरण हुन थालेपछि विकृति बढ्दैगएको बताउनुभयो । धार्मिक क्षेत्रमा खुलेआम मदिरा विक्री वितरण हुँदा कसैको ध्यान नगएको उहाँले बताउनुभयो । 

घोडाघोडी हिजोआज लागुपदार्थ दुव्र्यशनको अखडा बन्दैगएको समेत स्थानीयले बताएका छन् । स्थानीय मैना  ढकालले लागुपदार्थ सेवन गर्ने र दिनभर ताल वरपर बरालिने यु्वाबाट नै घोडाघोडीमा घुम्न आउनेहरुको मोवाईल गरगहना लुटपात हुनेगरेको बताउनुभयो । 

विश्व रामसार सूचीमा सूचीकृत भएर सन् २००३ देखि विश्व सिमसार क्षेत्रको रुपमा घोडाघोडी तालको पहिचान हुदै आएपनि यस क्षेत्रको सुरक्षालगायत संरक्षणको क्षेत्रमा सरकारले खासै चासो दिन नसकेको स्थानीयको आरोप छ । 

तालको मुख्य द्वारमा विकासका केही काम भएजस्तो देखिए पनि तालको क्षेत्रफल साँघुरै जानु, तालमा पानी सुक्दै जानु, ताल पुरिदै जानुले जैविक विविधता संकटमा पर्ने सम्भावना रहेको  विज्ञहरु बताउँछन् ।

घोडाघोडीमा ईको टेल रिर्सोट सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले घोडाघोडीमा बढ्दैगएको असुरक्षाका कारण एक पटक घुम्न आएको मानिस अर्को पटक घुम्न आउने बातावरण नबनेको बताउनुभयो । 

विगतदेखि नै असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले घोडाघोडीमा प्रहरी विटको माग गर्दै आएकाछन् । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले घोडाघोडीमा सुरक्षा व्यवस्था खाँचो रहेको बताउँदै स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘म आएको एक बर्ष पनि भएको छैन, यहाँ लागु पदार्थका ५१ वटा मुद्दा दर्ता भएका छन् । घोडाघोडीमा लुटपात मच्चाउने पनि तिनैमध्ये पर्छन् । वाबुआमा नभएका, निम्नबर्गीय परिवारका भर्खरका केटाहरु बढी घटनामा संलग्न छन् ।’