अमरराज नहर्की
तनहुँ, फागुन ५ गते । तनहुँमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने भएको न्यूनीकरण गर्न अभियान सञ्चालन गर्ने निर्णय भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
यस पटक हिउँदमा पानी नपरेकोले हुँदासुक्खा धेरै भएको, यस मौसममा हावाहुरी चल्ने भएकाले अधिकांश वन डढेलोको उच्च जोखिममा रहेको विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको वन अधिकृत नविन विश्वकर्माले बताउनुभयो । डिभिजन वन कार्यालयको आयोजनामा हालै दमौलीमा गरिएको डढेलो नियन्त्रण तथा व्यवस्थापन समितिको वैठकले विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको विश्वकर्माले बताउनुभयो । अभियान अन्तर्गत वन डढेलो सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिने भएको छ ।
यस अन्तर्गत कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने छ । अभियान अन्तर्गत बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम गरिने भएको छ ।
नागरिकलाई सचेत हुन कार्यालयले सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुका साथै अन्तक्रिया, छलफल तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका अनुसार जिल्लाको अधिकांश ठाउँमा सामुदायिक वन, कबुलियती वन निजी आवादी वन डढेलोको उच्च जोखिममा छन् । यसको रोकथाममा रेडक्रस, उपभोक्ता, वन हेरालु र वन उपभोक्ता समिति, नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनासँग, स्काउट सहकार्य गरी अभियान सञ्चालन गरिने छ ।
जङ्गलमा लागेको आगो निभाउनका लागि ट्याक्टर बोक्न मिल्ने गरी चार हजार दुई सय लिटर पानी अट्ने क्षमताको पम्पसेट निर्माण कार्य भई रहेको छ । गत वर्ष एक हजार लिटर क्षमताको एक थान पम्पसेट निर्माण गरिसकिएको छ ।
अभियान अन्तर्गत तीन वटा संयन्त्र निर्माण गरिएको छ । आगलागीका घटना रोकथाम र न्यूनीकरणका लागि जिल्ला विपत् समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय परिचालन र निर्देशन, समिति बनाइएको छ । डढेलो नियन्त्रण र व्यवस्थापन कार्यमा खट्न तथा खटाउन व्यवस्था गर्न सुरक्षा निकाय एवम् वन कार्यालयको संयुक्त प्रयासबाट द्रुत प्रतिकार्य टोली क्विक रेस्पोन्स टिम गठन गरी परिचालन गरिनेछ । जिल्लास्थित नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक परिचालन हुने कार्यालयले जनाएको छ ।