बोमलाल गिरी
नवलपुर, फागुन ५ गते । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ ।
कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो । कावासोती –१६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्बिरहरु सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा फेला परेको एउटा जेसिबी र एउटा ट्रिपरलाई कारबाही गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रिपरलाई २५ हजार रुपियाँ र जेसिबीलाई ७० हजार गरी ९५ हजार रुपियाँ जरिवाना गरिएको हो ।
नगरपालिकासँग विनाअनुमति उत्खनन गरेको पाइएकाले कारबाही गरिएको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । भुसालका अनुसार नगरपालिकाले कति परिणाममा नदीजन्य पदार्थ उत्खनन गरिएको छ भन्ने अनुसन्धान गर्न अनुगमन समिति पनि गठन गरेको छ । समितिको सिफारिसको आधारमा ठेकेदार कम्पनीलाई थप कारबाही हुने नगरपालिकाले जनाएको छ ।
यसअघि कावासोती नगरपालिकाले स्टक प्रमाणित नभएको नदीजन्य वस्तु जफत गर्ने र चोरी निकासी गर्दै गरेको अवस्थामा सवारीसाधनको सङ्ख्याको आधारमा कारबाही गर्ने गरेको थियो । तर अहिले चोरी भएर प्रयोग भइसकेको सामग्रीको विषयमा कस्तो कारबाही गर्ने भन्ने निर्णय नभएकाले कार्यपालिकाको बैठक बसेर थप कारबाहीको निर्णय हुने नगरप्रमुख भुसालले बताउनुभयो ।
प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा गण्डकी प्रदेश ०४ ००१ ख ००७३ नम्बरको ट्रिपरलाई नियन्त्रणमा लिएर नगरपालिकाको जिम्मा लगाएको थियो । अर्को एउटा जेसिबीलाई कावासोती –१६ वडा कार्यालयको सिफारिसका आधारमा कारबाही गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।