भउचप्रसाद यादव/केदार तिमल्सिना
बनेपा, फागुन ५ गते । बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको मर्मत सुरु गरिएको छ । सडक डिभिजन भक्तपुरले गत असोज दोस्रो साताको बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमानासम्मका विभिन्न स्थानमा सडक मर्मत सुरु गरेको हो ।
असोज दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको अस्थायी रूपमा मर्मत तथा पुनर्निर्माण सुरु गरिएको छ । नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सीमास्थल नेपालथोकसम्म बाढीपहिरोले क्षतिग्रस्त राजमार्गको मर्मत तथा पुनर्निर्माण सुरु गरिएको हो । बाढीपहिरोले कुल १२ किलोमिटर क्षतिग्रस्त राजमार्गमध्ये पहिलो चरणमा आठ किलोमिटरको मर्मत तथा पुनर्निर्माण सुरु गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी वर्षायाममा उक्त राजमार्गमा यातायात सञ्चालन अवरुद्ध नहोस् भन्ने उद्देश्यसहित अस्थायी रूपमा भए पनि मर्मत तथा पुनर्निर्माण सुरु गरिएको जानकारी दिनुभयो । अहिले बगरमा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन गरिएको छ । सरकारले बिपी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उहाँले बताउनुभयो ।
सडक विभागका सहसचिव उमेशविन्दु श्रेष्ठले वर्षायाममा सवारीसाधन चल्ने गरी विभागको आफ्नै जनशक्ति, उपकरण र स्रोतसाधन प्रयोग गरी अस्थायी रूपमा मर्मत तथा पुनर्निर्माण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्गका क्षतिग्रस्त १४ स्थानमा सडक मर्मत गर्न लागिएको हो । उहाँले भन्नुभयो, “क्षति भएको राजमार्ग खण्डको पुनस्र्थापना र कालोपत्रे गर्न ठेक्का सम्झौता भएदेखि कम्तीमा तीन वर्ष लाग्न सक्छ । अहिलेसम्म ठेक्काका लागि बोलपत्रसमेत आह्वान हुन सकेको छैन । ठेक्का आह्वान भएर सम्झौता हुन्जेल बर्खा लागिसक्छ । बर्खाअगाडि ठेकेदारबाट काम गराउन सम्भव देखिँदैन । त्यही भएर अस्थायी रूपमा मर्मत तथा पुनर्निर्माण सुरु गरिएको हो ।”
उहाँका अनुसार राजमार्गको क्षतिग्रस्त खण्डमा तीन मिटर उचाइसम्म ग्राभेल गरेर सडक बनाउने, आवश्यक भएको ठाउँमा ‘कटिङ’ गर्ने तथा जाली भरेर मर्मत तथा पुनर्निर्माण सुरु गरिएको हो । रोसी खोलालगायत विभिन्न ठाउँमा खोलाको सतहभन्दा तीन मिटर उचाइसम्म ग्राभेल गरेर सडक पुनर्निर्माण गर्न लागिएको हो ।
सडक विभागका सहसचिव तथा प्रवक्ता अर्जुन अर्यालले भन्नुभयो, “राजमार्गको क्षतिग्रस्त खण्डमा स्थायी र अस्थायी गरी दुई किसिमको काम गर्नु पर्छ । स्थायी काम गर्न बोलपत्र आह्वानदेखि निर्माण सम्पन्न हुन्जेलसम्म तीन वर्षको समय चाहिन्छ । स्थायी कामका लागि अध्ययन, डिजाइन, आर्थिक स्रोत सुनिश्चित हुनु पर्छ । अस्थायी काम भनेको अगामी बर्खामा यातायात बन्द नहोस् भनी राजमार्गको मर्मत गर्नु हो ।”
सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले वर्षायाममा आउन सक्ने बाढीको जोखिमलाई ध्यानमा राख्दै चौकीडाँडादेखि सिन्धुलीको सिमानासम्मको सडक मर्मत गरिने बताउनुभयो । “आगामी वर्षायामलाई ध्यान राख्दै अहिले बिपी राजमार्ग अन्तर्गतको बोक्से कुना र च्युरीबासनजिक आठ वटा उपकरण प्रयोग गरेर सडक मर्मत सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।
बाढीका कारण हुन सक्ने क्षति र सडक अवरुद्धलाई ध्यानमा राख्दै हालको अवस्थामा रहेको खोलाको धार परिवर्तन गरिने छ । “अस्थायी निर्माण गरिएको डाइभर्सन सडकको उचाइ बढाउने र खोलाको सतह गहिरो बनाउने काम गर्दै छौँ,” इन्जिनियर प्रसादले भन्नुभयो । अहिले रहेको खोलाको सतह सात मिटरसम्म गहिरो बनाउने काम भइरहेको छ । “आगामी वर्षायाममा बाढीबाट हुन सक्ने राजमार्ग अवरुद्ध नहोस् भनेर यो काम गरिरहेका छौँ । आगामी तीन÷चार दिनपछि अरू उपकरण थपेर चौकीडाँडादेखि कटुन्जे, कालढुङ्गालगायत अन्य स्थानमा सडक मर्मतको काम गर्ने छौँ,” उहाँले भन्नुभयो ।
उहाँले बाढीपहिरोका कारण क्षति भई हाल सडक डाइभर्सन गरिएका स्थानमा आगामी वैशाख १५ भित्र सडकको उचाइ बढाउने, खोलाको सतह गहिरो बनाउने र खोलाको धार परिवर्तन गराउने काम गरिने छ । मर्मतको काम सम्पन्न गर्न वैशाख १५ को समयसीमा दिइए पनि चैत मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । सडक डिभिजन भक्तपुरले सडक मर्मत गर्ने व्रmममा अप्ठ्यारो स्थानमा ग्याबिन जाली भरेर सडकको उचाइ बढाउने जनाएको हो । कार्यालयले बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि सिन्धुलीको सिमानासम्मको १२ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ ।
बाढीपहिरोका कारण सडक क्षति भएको पाँच महिना पुग्नै लाग्दा अहिलेसम्म क्षतिग्रस्त राजमार्ग कसले र कसरी बनाउने भन्नेबारे टुङ्गो लाग्न सकेको छैन । राजमार्ग निर्माणका लागि स्रोत सुनिश्चितसमेत गर्न सकिएको छैन । सडक डिभिजन भक्तपुरले क्षतिग्रस्त बिपी राजमार्ग पूर्ण निर्माणका लागि नौ अर्ब ६६ करोड रुपियाँ लाग्ने लागत अनुमान निकालेको छ । सङ्घीय राजधानी काठमाडौँलाई तराईसँग जोड्ने लक्ष्य अनुरूप जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ सालबाट निर्माण कार्य सुरु गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १.१ बिलियन जापानी येनकोे लागतमा निर्माण सम्पन्न भई उक्त सडक विसं २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।