सुलीकोट समाचारदाता
सुलीकोट, फागुन ५ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । गोरखा नगरपालिका–६, पाटेचौर निवासी ज्येष्ठ तथा अशक्त नागरिक ८२ वर्षीय लीलामाया श्रेष्ठ हिँडडुल गर्न नसक्ने अवस्थामा भएकाले जिल्ला प्रशासन कार्यालय र वडा कार्यलयको टोली घरमै गएर नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
‘वडाले पहिलो पटक अशक्त नागरिकलाई घरमा पुगेर नागरिकता उपलब्ध गराउने काममा लागेको छ,” वडाध्यक्ष दिलीप जोशीले भन्नुभयो, “वडाभित्र रहेका अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि वडा कार्यालयबाट निर्णय गरी घरमै पुगेर सेवा दिइने भएको छ ।”
गोरखा जिल्लामा भएका ११ वटा स्थानीय तहमा वडा र पालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालयको टोलीले समय मिलाएर सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत चूडानिधि तिवारीले बताउनुभयो । नागरिकता प्राप्त गरेपछि वृद्ध तथा अशक्त ८२ वर्षीय लीलामाया श्रेष्ठलाई शुक्रबार वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयको टोली घरमै आएर नागरिकता बनाइदिएपछि खुसी लागेको बुहारी विमला श्रेष्ठले बताउनुभयो ।