• १७ असार २०८१, सोमबार

विमान खोज्न गएको फिस्टेलको हेलिकोप्टर फर्कियो

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १५ गते । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न गएको फिस्टेल एयरको हेलीकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । विमान हराएको क्षेत्रतर्फ खोजीका लागि गएको हेलिकोप्टर त्यस क्षेत्रमा मौसम बिग्रेका कारण हेलिकोप्टर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । 

फिस्टेलको हेलिकोप्टरले कुनै जानकारी लिन नसकी फर्केको र केही बेरमा नेपाली सेनाको हेलिकोप्टर त्यस क्षेत्रतर्फ जाने प्रजिअ शर्माले बताउनुभयो । हल्का वर्षा एवम् बाक्लो कुहिरोको कारणले गर्दा विमानको खोजी गर्न समस्या भएको थासाङ गाउँपालिका कोबाङका स्थानीय बासिन्दा एवम् मिर मुखिया ज्वार भट्टचनले बताउनुभयो । 

भट्टचनले भन्नुभयो “हेलिकोप्टर आएर हेर्ने फर्कने गरेको छ, तर यहाँ स्थानीयलाई पनि केही जानकारी छैन, खोज्नका लागि जाने खालको मौसम अनुकुल छैन ।” पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडान भरेको (९ एन एइटी) विमान बिहान १० बजेर ११ मिनेटमा जोमसोम टावरसँग सम्पर्कमा आएको भए पनि त्यसपछि सम्पर्कविहीन भएको थियो । 

जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले बिहान १० बजेर ११ मिनेटमा जोमसोम टावरमा सम्पर्क भएको भए पनि त्यसपछि सम्पर्क हुन नसकेको बताउनुभयो । पोखराबाट घोडेपानीमाथिको आकाश हुँदै मुस्ताङको आकाशमा प्रवेश गरेपछि धौलागिरी हिमालतर्फ मोडिएको भन्ने जानकारी आएको भए पनि अन्य कुनै जानकारी प्राप्त हुन नसकेको उहाँले जानकारी दिनुभयो । 

मुस्ताङको थासाङ गाउँपालिकाको लेते र टुकुचेको बीचमा पर्ने पहाड क्षेत्रबाट विमान सम्पर्कविहीन भएको थियो । विमानमा चालकदलका ३ सदस्य, ६ विदेशी र १३ नेपाली गरी २२ जना यात्रु रहेको जोमसोम विमानस्थलले जनाएको छ ।