सुलीकोट समाचारदाता
सुलीकोट, फागुन ४ गते । गोरखा जिल्लाको गोरखा दरबारदेखि काठमाडौँको हनुमानढोका दरबारसम्म ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु भएको छ । धार्चे मनासलु पर्यटन विकास समितिले ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु गरेको हो ।
बुधबार बिहान ८ बजे गोरखा दरबारको हनुमान भन्ज्याङबाट यात्रा सुरु भएको पहिलो दिनमा भीमसेन थापा गाउँपालिकाको खान्चोक हुँदै बोर्लाङको भीमसेन स्मारक पुगेर सो टोली बास बस्ने धार्चे मनासलु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बोर्लाङको घाटबेँसी हुँदै धादिङको सामगरी भन्ज्याङ, त्रिशूली नुवाकोट, दरबार हुँदै फागुन ४ गते काठमाडौँ हनुमानढोका दरबारसम्म पुगेर यात्रा सम्पन्न हुने छ । झन्डै ८० किलोमिटरको यात्रा अनुमान गरिएको पदमार्गको पदयात्रा गरेपछि त्यसको आकर्षण र पर्यटन विकासको सम्भाव्यताका विषयमा प्रतिवेदन बनाउने अध्यक्ष गुरुङको भनाइ छ ।
ऐतिहासिक एकीकरण पदमार्ग यात्रा गर्नेले पदमार्गको महत्वपूर्ण आकर्षण के के हुन सक्छन्, तिनीहरूको विवरण सङ्कलन गरी पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पूर्वाधारमा के आवश्यकता पर्छ भन्ने विस्तृत अध्ययन गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिवेदन तयार पारी पर्यटन बोर्ड पोखरा, ट्रेकिङ एजेन्सी एसोसिएसन तान, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकामा पेस हुने छ ।” एकीकरण पदयात्राका लागि अध्यक्ष सानेबहादुर गुरुङ, ट्रेकिङ एजेन्सी टानका इन्जिनियर र एक जना सहयोगी सहभागी भई सो पदमार्गमा म्याराथन, साइक्लिङ, इको टुरिजमको सम्भाव्यताका साथै कृषि पर्यटनलाई जोड्ने गरी अध्ययन हुने बताइएको छ ।