नवराज श्रेष्ठ
रामेछाप, फागुन ३ गते । रामेछापको मन्थलीमा तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता र प्रथम महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
फागुन ७ गते बुधवारसम्म चल्ने प्रतियोगिता मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारबाट सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति रामेछापको खेल मैदानमा बागमती प्रदेश सांसद एवं प्रदेश उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्घाटन गर्नुभयो ।
गएका वर्षहरूमा पुरुषको मात्रै प्रतियोगिता हुँदै आएको नगर कपमा यो वर्षबाट महिलाको पनि खेल समावेश गरिएको मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताउनुभयो ।
यो पटक १४ वडाका १४ टिम पुरुष र ७ वडाका ७ टिम महिला गरी कुल २१ वटा टिमको सहभागिता रहेको उहाँले बताउनुभयो । यो वर्ष वर्षबाट सुरु गरिएको महिला प्रतियोगितामा १, २, ३, ६, ७, ८ र १३ नम्बर वडाका महिला टिम सहभागी रहेको अध्यक्ष माझीले बताउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेले एक लाख रुपियाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसै गरी दोस्रो हुने टिमले ७५ हजार रुपियाँ तेस्रो हुने टिमले ५० हजार र सान्त्वना हुने टिमले ३० हजार रुपियाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
महिलातर्फ प्रथम हुने टिमले ५० हजार रुपियाँसहित ट्रफि मेडल र प्रमाण पत्र पाउनेछ । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
कुल १९ लाख रुपियाँ खर्चहुने अनुमान गरिएको प्रतियोगितामा भाग लिने सबै वडाहरूलाई खेलाडी व्यवस्थापनका लागि ५०–५० हजार रुपियाँको दरले रकम प्रदान गरिएको आयोजकले जनाएको छ ।
गत वर्षको दोस्रो नगर कप वडा नं ७ भटौलीले जितेको थियो । प्रथम नगर कपको उपाधि मन्थली–१ ले जितेको थियो । यो वर्ष पनि साबिक विजेताहरू वडा नं १ मन्थली र वडा नं ७ भटौलीलाई नै प्रमुख उपाधि दावेदार मानिएको छ ।