कमल शर्मा
दैलेख, फागुन ३ गते । भगवतीमाई गाउँपालिका–२, रुमका १९ वर्षीय भूपेन्द्र विकले कक्षा ७ पढ्दापढ्दै विद्यालय छोड्नुभयो । घरको आर्थिक अवस्थाका कारण विद्यालय छाडेर कालापहाड जाने गरेका उहाँले गाउँमै रोजगारी पाउने उद्देश्यले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन फाराम भर्नुभयो तर उहाँले दुई आर्थिक वर्षसम्म कुनै रोजगारी पाउनु भएन । वडामा सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम दुवैमा रोजगारी नपाएपछि उहाँ पुनः कालापहाड जान बाध्य हुनुभयो ।
उहाँ जस्तै भगवतीमाई गाउँपालिका–३ का टीकाराम रेग्मी रोजगारीका लागि वडामा सूचीकृत हुनुभयो तर उहाँले रोजगारी पाउन सक्नुभएको छैन । वडामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम कमै आउने र रोजगारीका लागि प्राथमिकता नपर्ने भएपछि उहाँले यो वर्ष वडाले खोलेको बेरोजगार व्यक्तिको फाराम नै भर्नुभएन । कामको खोजीमा अन्य मुलुक र भारत जाने युवालाई देशमा रोजगारी दिने आश्वासन दिएर निर्वाचन जितेका जनप्रतिनिधिले युवालाई रोजगारी दिनेभन्दा पनि योजना निर्माण गर्दा ठेक्का दिने र डोजर लगाएर काम गर्ने समस्याले रोजगारी पाउन नसकेको स्थानीय युवाले बताएका छन् ।
भगवतीमाई गाउँपालिका–२ का भूपेन्द्र विकले स्थानीय सरकार तथा प्रदेश र सङ्घ सरकारबाट सञ्चालन हुने धेरै योजना ठेक्कामा हुने र युवाले रोजगारीसमेत नपाउने समस्या रहेको बताउनुभयो । उहाँले ठेकेदारले समेत कामदार बाहिरबाट ल्याउने र यहाँका युवा काम खोज्न भारतलगायतका मुलुकमा जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काले गाउँपालिकाबाट रोजगारीका कार्यक्रम कम आउने समस्याले वडामा रोजगारी दिन नसकेको बताउनुभयो । उहाँले वडामा २० जनाका लागि रोजगारी आउने र १५० जना सूचीकृत हुने समस्याले सबैलाई समेट्न नसकिएको जनाउनुभयो । प्रत्येक वर्ष एकभन्दा बढी सूचीकृत हुने गरे पनि प्राथमिकता दिएर रोजगारी दिँदा १५ देखि २० जनालाई मात्र रोजगारी कार्यक्रममा जोड्न सकिन्छ ।
भगवतीमाई गाउँपालिकामा आव २०७९/८० मा सूचीकृत भएका बेरोजगारको सङ्ख्या एक हजार आठ सय छ । त्यसमा ९९३ जना महिला र ८०७ जना पुरुष छन् । आव २०८०/८१ म भगवतीमाईमा एक हजार ४५ जना बेरोजगार सूचीकृत भएका थिए । उक्त आवमा सूचीकृत भएकामध्ये महिला ७३४ र पुरुष ३११ थिए । भगवतीमाई गाउँपालिकाका रोजगार संयोजक बलबहादुर भण्डारीले वडामा सूचीकृत सबैलाई रोजगारी दिन नसकिएको बताउनुभयो । भगवतीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष दानबहादुर थापाले आफ्नो पालामा युवालाई रोजगारीमा जोड्न श्रम रोजगार बैङ्क स्थापना गरी काम सुरु गरिए पनि प्रभावकारी हुन नसकेको बताउनुभयो ।
डुङ्गेश्वर गाउँपालिकामा आव २०७९/८० र २०८०/८१ मा गरी छ हजार १३ जना बेरोजगार भएको भनी सूचीकृत भएका थिए । तीमध्ये दुई वर्षमा ५२० जनाले मात्र रोजगारी पाए । गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले सङ्घीय सरकारको मापदण्ड अनुसार सूचीकृत भएकामध्ये विनियोजित बजेटका आधारमा एक जनालाई एक सय दिनको रोजगारी दिने भने पनि यहाँको व्यावहारिकता हेरी रोजगारीमा समावेश गर्ने गरेको बताउनुभयो ।
नौमुले गाउँपालिकामा दुई आवमा आठ हजार ५६४, महाबुमा चार हजार चार, भैरवीमा चार हजार ४३६, ठाँटीकाँधमा पाँच हजार सात सय, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पाँच हजार ७७०, आठबिसमा दुई हजार १९१ र नारायणमा पाँच हजार १८१ जना बेरोजगार सूचीमा सूचीकृत भएका छन् । जनसङ्ख्या र क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो नगरपालिका रहेको दुल्लु नगरपालिकामा १६९ जना मात्र आव २०७९/८० मा सूचीकृत भएका पाइएको छ । आव २०८०/८१ मा भने तीन हजार ३२२ जना सूचीकृत भएका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा स्थानीय शासनविज्ञ दिपेश घिमिरेले स्थानीय सरकारले रोजगारीकेन्द्रित योजना निर्माण गर्न नसकेको बताउनुभयो । उहाँले घरआँगनका सरकारले समेत युवा तथा लक्षित समुदायलाई रोजगारी दिन नसकेकै कारण गाउँमा बसाइँसराइसँगै युवा विदेश पलायन हुने समस्या रहेको जनाउनुभयो ।