• ३ फागुन २०८१, शनिबार

‘उहिलेको नेपाल’ नामक फोटो प्रदर्शनी

blog

बुटवल, फागुन ३ गते । रुपन्देहीको रुद्रपुर माध्यमिक विद्यालयको आयोजनामा टोनी हेगन फाउन्डेसन नेपालको सहयोगमा टोनी हेगनको ‘उहिलेको नेपाल’ नामक फोटो प्रदर्शनी गरिएको छ । फोटो प्रदर्शनीमा भूगर्भविद टोनी हेगनले ७० वर्ष अगाडि नेपाल भ्रमणको क्रममा खिच्नुभएको नेपालका विभिन्न स्थानको फोटो प्रदर्शनका लागि राखिएका छन् ।

प्रदर्शनीको शुभारम्भ गर्दै कञ्चन गाउँपालिका–४ का वडाध्यक्ष केशरबहादुर खत्रीले पुराना फोटोको प्रदर्शनीले विद्यार्थीलाई हाम्रो देशको तत्कालीन अवस्था र नेपालीको जनजीवनका बारेमा नजिकबाट नियाल्न र बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टोनी हेगन फाउन्डेसन नेपालका कोषाध्यक्ष वसन्त थापाले हेगनले नेपालको भौगोलिक तथा जनजीवन र रहनसहनसँग नजिक रहेर विभिन्न समयमा उहाँले खिच्नुभएका तस्बिरमध्ये केही तस्बिरमात्र प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।