काठमाडौँ, फागुन ३ गते । गायक एवं सङ्गीतकार टङ्क बुढाथोकीको निर्माण तथा निर्देशनमा चलचित्र ‘मनबिनाको धन’ को शुक्रबार कोटेश्वर महादेव मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरियो । अभिनेता सरोज खनालले क्ल्याप, युवा व्यवसायी टीका बुढाथोकीले नरिवल फोड्नुभएको थियो । बालगायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहूर्त सर्ट दिनुभएको थियो ।
चलचित्रमा मुख्य पात्र बालगायक अशोक दर्जी हुने छन् । चलचित्रमा अभिनेता खनाल, पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीद्र झालगायत कलाकारको अभिनय रहने छ । चलचित्रको कथा निर्माता बुढाथोकीले लेख्नुभएको हो भने पटकथा र संवाद शिवम अधिकारीको रहेको छ । चलचित्रमा बुढाथोकी सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहने छ ।