गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि विश्वका प्रतिष्ठित लगानीकर्तासँग सहयोग र सहकार्यका लागि आवश्यक सहजीकरणको वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एसियाकै अगुवा लगानीसम्बन्धी संस्थाका सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई विकसित बनाउने अठोटका साथ दृढ लक्ष्यका साथ सरकारले काम गरिरहेको प्रस्ट पार्नुभएको हो ।
उहाँले सिङ्गापुर विश्वमै छिटो विकास भएको मुलुकमा पर्ने बताउँदै सर्वना समूहको अनुभव र विज्ञता नेपालको विकास र उन्नतिका लागि उपयोगी हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पैसाले मात्रै विकास नहुने र पैसा आर्जनका लागि विकास आवश्यक भएको विषयप्रति आफूहरू स्पष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म सरकारलाई वास्तविक रूपमा जनताको सरकारका रूपमा विकसित गर्न चाहन्छु । हामी भ्रष्टाचारका लागि कुनै काम गर्दैनौँ । देशलाई विकसित र जनतालाई सुखी बनाउनका लागि काम गर्छौं ।” प्रधानमन्त्री ओलीले विश्वव्यापी संस्थालाई लगानी विस्तार गर्नका लागि केकस्तो कानुनी र संरचनात्मक परिवर्तन आवश्यक भए त्यसमा परिवर्तन गर्न सरकार तयार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा नेपालको पूर्वाधार र सहरी विकासका विभिन्न क्षेत्रमा लगानी विस्तारका सन्दर्भमा छलफल भएको छ । कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेलमार्ग, सुरुङमार्ग, स्मार्ट सिटी, एक्स्प्रेसमार्ग आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना तयारी र लगानीको इच्छा व्यक्त गर्नुभयो ।
सिङ्गापुर सरकारको स्वामित्वमा रहेको विश्वव्यापी लगानीसम्बन्धी निकाय तेमासेक अन्तर्गतको उक्त कम्पनीले हाल नेपालमा कार्यालय स्थापना गरेर काम सुरु गरिसकेको छ । भेटमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सर्वना ग्रुपका प्रशासकीय प्रमुख सु मिन, नेकपा (एमाले) केन्द्रीय सहरी विकास विभाग प्रमुख शेरबहादुर तामाङ, सर्वना ग्रुपका दक्षिण एसिया प्रमुख अभिनाश मिश्रा, नेपाल प्रमुख विलास कोइरालालगायत सहभागी हुनुहुन्थ्यो ।