ज्ञानु पंगेनी
मध्यविन्दु, फागुन २ गते । हिन्दु र मुस्लिम धर्म मान्ने समुदायको धार्मिक आस्थाको रूपमा रहेको मदारबाबा मेला फागुन ५ गतेदेखि लाग्ने भएको छ । प्रत्येक वर्ष लाग्दै आएको मदारबाबा मेला यस वर्ष फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुन लागेको हो ।
नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –६ को दाउन्नेडाँडामा मदारबाबाको मजार पर्दछ । नवलपरासी पश्चिमकोे सुस्ता गाउँपालिकाको महलबारी हुँदै नौ किलोमिटर टाढा अप्ठ्यारो पहाडी क्षेत्रमा पैदल यात्रा गरी मदारबाबाको मजार पुगिन्छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मेला लाग्ने क्षेत्र वरपर मदिरा बिक्रीमा रोक लगाएको छ । विगतका वर्षहरूमा मदिरा सेवनकै कारण विभिन्न अप्रिय घटनाहरू भएका कारण यस वर्ष मेला अवधिभर मदिरा बिक्री नगर्न नगराउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । यसैगरी, जुवातास जन्य कुनै पनि गतिविधि नगर्न नगराउन समेत अनुरोध गरिएको शर्माले जानकारी दिनुभयो ।
मेलाको सुरक्षा व्यवस्था चुस्त बनाई राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको विपद् उद्धार टोली, मध्यवर्ती लगायत सुरक्षा संयन्त्र तैनाथ रहने शर्माले जानकारी दिनुभयो । जिल्ला प्रशासनले सुरक्षाको पाटो हेर्ने भएको हुँदा, दुवै जिल्लाका सुरक्षा निकायबाट मेलाको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको उहाँको भनाइ छ । मेला स्थल वरपर निगरानी बढाइने, सिसीटिभी क्यामेरा जडान गरिने तथा शान्ति सुरक्षाका लागि विशेष गस्ती परिचालन गरिने समेत शर्माले बताउनुभयो ।
मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि सरोकारवालाको सहभागितामा विभिन्न उपसमितिहरू निर्माण गरिएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, बाटो सडक मर्मत, खानेपानी व्यवस्थापन लगायत आवश्यक सबै तयारी पूरा गरिएको गिरीले बताउनुभयो ।
मेलामा नेपाल र भारतका गरी कूल १० लाख भक्तजन आउने विश्वास लिइएको विनयी त्रिवेणी गाउँपालिका –६ का अध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । यहाँ अधिकांश भारतबाट भक्तजन आउने गर्दछन् ।
मेलामा विशेष गरी धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न व्यापारिक स्टलहरू समेत रहने अध्यक्ष शाहले बताउनुभयो । यहाँ नेपाल र भारतका सीमावर्ती क्षेत्रबाट व्यवसायीहरूले आफ्ना उत्पादनको बिक्री वितरण गर्ने गर्दछन् ।
मेलामा आएर मदार स्थलमा पूजा अर्चना गरेमा विशेष गरी सन्तान नभएकालाई सन्तान प्राप्तसहित मनोकामना पूरा हुने मुख्य धार्मिक विश्वास रहिआएको हो भने मजारमा आएर पूजा अर्चना गरेमा भक्तजनको विभिन्न किसिमको समस्या, दुःख, पिर मर्का समाधान हुने साथै परिवारमा सुखशान्ति प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ ।
प्राचीन मान्यता र मदार ए तारिख पुस्तकमा उल्लेख भए अनुसार सातौँ शताब्दीको अन्तिम दशक तिर सिरिया तिरबाट देश देशावर गर्दै आएका मदार बाबाले यहाँ आई तपस्या गरेको र चामत्कारिक शक्ति प्राप्त गरेको स्थलका रूपमा मदार स्थान मानिन्छ ।
यहाँ नेपाल भारतका लाखौँ तीर्थालुहरू आउने गर्छन् । हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको आस्थाका रूपमा मदारबाबा रहे पनि यहाँ बौद्ध धर्म लगायतका अन्य धर्मावलम्बीहरू समेत दर्शनका लागि आउने गर्दछन् ।