काठमाडौँ, फागुन २ गते । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुःखी आत्मा’ ले सर्वाधिक सो पाएको छ । दयाहाङ राई र आँचल शर्मा अभिनीत चलचित्रले सयभन्दा बढी सो पाएको निर्देशक दीपेन्द्र लामाले बताउनुभयो । बिहीबार साँझ प्रिमियर भएको चलचित्रले कलाकार र सञ्चारकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो ।
चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ । क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाको निर्माण र सुदीप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा कवि श्रवण मुकारुङका १० वटा कविता पनि समेटिएका छन् । आलोक शुक्लाले खिचेको चलचित्रको निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।