• १ फागुन २०८१, बिहिबार

गुरिल्ला म्याराथनमा जुम्लाकी कल्पना पहिलो

blog

गुरिल्ला म्याथनमा सहभागी धावकहरू । तस्बिर : गोरखापत्र

राजु लामिछाने

रुकुमपश्चिम, फागुन १ गते । जनयुद्ध दिवसको अवसरमा रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित मौराखारा गुरिल्ला म्याराथनको सातौँ संस्करणको दौड सम्पन्न भएको छ ।

महिलातर्फको दौडमा ३२ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै जुम्लाकी कल्पना बुढा पहिलो हुनुभएको छ । निर्धारित ३४ किलोमिटर दुरी ३ घन्टा १४ मिनेटमा पार गरेर बुढाले प्रथम स्थान हात पार्नुभएको हो । जुम्लाकै राज्यलक्ष्मी रावत दोस्रो हुनुभएको छ । रावतले निर्धारित दुरी ३ घन्टा १६ मिनेटमा पार गर्नुभएको हो । 

म्याराथन व्यवस्थापक सानीभेरी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका सचिव बालकुमार नकालका अनुसार ३ घन्टा ५७ मिनेटमा दुरी पार गरेकी जुम्लाकी सन्दिपा बुढा तेस्रो हुनुभएको छ । जुम्लाकै मिमु बुढा चौथो र समिता बुढा पाँचौँ हुनुभएको छ । 

महिलातर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्राप्त गर्ने सदस्य सचिव नकालले जानकारी दिनुभयो । चौथो हुनेले १० हजार पुरस्कार प्राप्त गर्दा दशौँ स्थानसम्म हाँसिल गर्ने धावकले समान ३ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

यसैगरी पुरुषतर्फ रुकुमपश्चिमका दुर्गा बुढा पहिलो हुनुभएको छ । ५३ धावकहरुलाई पछि पार्दै बुढाले प्रथम स्थान हाँसिल गर्नुभएको हो । उहाँले निर्धारित ४८ किलोमिटर दुरी ४ घन्टा ५२ मिनेटमा पार गर्नुभएको हो । 

रुकुमपश्चिमकै भुवन ओली दोस्रो  हुनुभएको छ । उहाँले निर्धारित दुरी ४ घण्टा ५३ मिनेट पार गर्नुभएको हो । ४ घण्टा ५७ मिनेटमा दुरी पार गर्नुभएका जुम्लाका शेरबहादुर बुढा तेस्रो, रुकुमपूर्वका शक्तिराम बुढा चौथो र रुकुमपश्चिमका अर्जुन बस्नेत पाँचौँ हुनुभएको छ ।

सानीभेरी गाउँपालिकाले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन गर्दै आइरहेको छ ।