काठमाडौँ, माघ ३० गते। खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताउनुभएको छ।
बुधबार दिउँसो प्राधिकरणले तार अण्डर ग्राउण्ड गर्नका लागि होरीजेन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको हो।सो क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुग्नु भएका मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नु हुँदै मन्त्री यादवले भन्नुभयो, “विद्युत प्राधिकरणले सधै हामीसँग समन्वय गर्दै आएका थियो।आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।”
मन्त्री यादवले पानी बन्द हुँनासाथ फुटेको पाइपलाइन तत्काल मर्मत गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयो।उहाँले भन्नुभयो, “अहिले करिब पानी बन्द हुँने अवस्थामा पुगेको छ।पानी पूर्ण रुपमा बन्द हुँनासाथ फुटेको पाइप मर्मत गरी पानी सूचारु गराउन मैले निर्देशन दिइसकेको छु।फुटेको पाइप चाँडै मर्मत गरी पानी सूचारु गरिने छ ।”
पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवन जलमग्न बनेका छन्।