अमरराज नहर्की
तनहुँ, माघ ३० गते गते । तनहुँको म्याग्दे गाउँपालिकाद्वारा १६ जना विपन्न जनताको घर निर्माण गरिएको छ । गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गरेको हो ।
सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा १६ विपन्नको आवास निर्माण गरी हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रममार्फत आवास निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।
सङ्घ सरकारको समपूरक कोष आधा र गाउँपालिकाको आधा गरी ९० लाख ४८ हजारमा लागतमा १६ वटा घर निर्माण गरिएको घरनक्सा शाखा प्रमुख इन्जिनियर रोमण पण्डितले बताउनुभयो । पण्डितको अनुसार चालु आर्थिक वर्षमा ३२ वटा घरको निर्माण अन्तिम चरणमा पुगेको छ । तीन करोड नौ लाख रुपियाँको लागतमा घर निमाण गरिएको हो । सङ्घको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको हो ।
विपन्न नागरिकहरु घरविहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसको आधारमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत जाति, अल्पसङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।