• ३० माघ २०८१, बुधबार

विपन्नका घर बनाउँदै विदेशी नागरिक

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, माघ ३० गते  । मोरङको कानेपोखरी–१, झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि धमाधम सुरक्षित घर निर्माण भइरहेका छन् । कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालबिचको त्रिपक्षीय साझेदारीमा घर निर्माण भइरहेका छन् । सोमबार बाँसको घर निर्माणसम्बन्धी प्रविधि, सिप र ज्ञान आदानप्रदान गर्न अमेरिकाबाट १६ र जापानबाट १२ गरी जम्मा २८ जना स्वयंसेवी दाता कानेपोखरी गाउँपालिका आइपुगेका छन् । 

उनीहरू २८ जना नै कानेपोखरी–१, झरनाघुट्टुमा पाँच दिनसम्म बाँसका घर बनाउने सिप प्रदान गर्दै आफू पनि सहभागी हुने छन् । सोमबारदेखि नै उनीहरू समुदायमा पुगेर काम थालेको गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले बताउनुभयो । सोमबार पालिका परिसरमा उहाँहरूलाई स्वागत गरी सिधै वडा नम्बर १ को झरनाघुट्टु लगिएको थियो । 

कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा कानेपोखरी–३ को राजगन्जमा ३० घर निर्माण गरेर विपन्न परिवारलाई सारिसकेको छ । यस्तै आव २०८०/८१ मा कानेपोखरी–४ को क्याम्पाघाटमा १७ घर बनिसकेका छन् । त्यहाँ विपन्न समुदायका १७ परिवार सरिसकेका छन् भने आव २०८१/८२ मा कानेपोखरी–३ को कोलटोलमा ३० घर र कानेपोखरी–१ को झरनाघुट्टुमा ११ घर निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन घरमा चार कोठा, एक शौचालय र एक भान्साघर रहेको छ ।