• ३० माघ २०८१, बुधबार

मानव–हात्तीबिच द्वन्द्व बढ्दो

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, माघ ३० गते । जङ्गलसँग मानिसको परनिर्भता बढ्दै जाँदा मोरङमा जङ्गली जनावर र मानिसबिच द्वन्द्व बढ्दै गएको छ । भारतको आसमबाट मेची नदी तरेर बाहुनडाँगी हुँदै नेपाल भित्रिएका हात्ती यो वर्ष अझै भारततर्फ फर्किएका छैनन् । सामान्यतया विगतमा हात्ती असार लागेपछि नेपाल आउने र पुसतिर भारत फर्किने गर्थे । केही वर्षयता चुरे क्षेत्रलाई आधार बनाएर निर्माण भएको मदन भण्डारी राजमार्ग आसपासका क्षेत्रमा हात्ती अलमलिरहेको हात्ती प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् । 

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान, हेटौँडाका निकुञ्ज, मनोरञ्जन तथा वन्यजन्तु व्यवस्थापन विभागका प्रमुख उपप्राध्यापक शैलेन्द्र यादवका अनुसार खास गरी मोरङ क्षेत्रमा हात्ती प्रजननका लागि आउने गरेका छन् । प्रजननका लागि भारतभन्दा नेपाल सुरक्षित स्थान हुन सक्छ । मोरङको जङ्गलमा गत वर्ष मात्र दुुई वटा हात्तीले छावा जन्माएर हुर्काएको अध्ययनले देखाएको छ । उपप्राध्यापक यादवले भन्नुभयो, “वनहरू उपभोक्ताको आवश्यकतासँग मात्र जोडिएका छन् । पर्यापर्यटन र जैविक विविधताका हिसाबले वनको संरक्षण नभए यो द्वन्द्व यत्तिमै रोकिने छैन ।”

यादवका अनुसार नेपालमा मेचीदेखि बागमतीसम्म, बागमतीदेखि दाङसम्म र दाङदेखि शुक्लाफाँट वन्यजन्तु आरक्षसम्म तीन वटा अलग अलग हात्ती जोन छन् । गर्भाधारण लामो समयसम्म एउटै वंशमा भए हात्तीको वंश पनि विनाश हुन्छ । त्यसैले हात्तीलाई तीन वटै जोनमा आवतजावत गर्ने जैविकमार्ग आवश्यक छ । उहाँले मानवबस्ती अन्यत्र सारेर भए पनि हात्तीमार्ग जोगाउन आवश्यक रहेको औँल्याउनुभयो ।

हात्तीले जहाँ आफ्नो मार्गमा अवरोध उत्पन्न भएको ठान्छ, त्यहीँ बढी क्षति गरेको देखिन्छ । समूहमा हिँड्ने हात्तीले कहिल्यै क्षति गर्दैनन् । एक्लै हिँड्ने हात्ती हिंस्रक हुन्छ । हामीकहाँ हात्तीलाई खेदाउन आगो बाल्ने, साइरन बजाउने, ढुङ्गा हान्ने गरिन्छ । यो विधिबाट हात्तीले गर्ने क्षति घट्दैन । अझ बढ्न सक्छ । उपप्राध्यापक यादवले समूहबाट एक्लिएको हात्तीसँग सचेत रहनुपर्ने बताउनुभयो । 

“भूपरिधीय संरक्षण पद्धति (ल्यान्डस्केप कन्जरभेसन एप्रोज) का आधारमा वनको विकास हुन दिनु पर्छ । जङ्गलमा अर्बौंको काठ कुहिने अनि हाम्रो आवश्यकताका लागि विदेशबाट काठ आयात गर्ने प्रणाली पनि ठिक नभएकाले सरकारले जङ्गली जनावरको वासस्थान सुरक्षित राखेर वनको उपयोग गर्ने कार्यव्रmम बनाउनु पर्छ,” उहाँले सुझाव दिनुभयो । वन क्षेत्रमा सेतो दुध आउने र अग्ला घाँस प्रजातिका वनस्पतिको बृहत् वृक्षरोपण गरेर हात्तीको आहार जङ्गलमै व्यवस्थापन गर्न सके हात्ती मानवबस्तीमा नआउने र मानव–हात्तीबिचको द्वन्द्व घटेर जाने उहाँको भनाइ छ । 

आर्थिक वर्ष २०६८÷६९ देखि मोरङमा सुरु भएको मानव र हात्तीबिचको द्वन्द्व २०८१ मा आइपुग्दा झनै बढिरहेको छ । २०८१ मा मात्र हात्तीले तीन जनाको ज्यान लिइसकेको छ । डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार १३ वर्षको अवधिमा हात्तीले १५ जनालाई मारिसकेको छ । 

हात्तीले मान्छे मात्र मारेको छैन, यही अवधिमा नौ वटा हात्ती मानव पासोमा परेर मारिएका छन् । आव २०६८/६९ मा एकै वर्ष तीन वटा हात्ती मारिएपछि द्वन्द्व अझ बढेको तथ्याङ्कले देखाएको छ । वन अधिकृत यादवले भन्नुभयो, “मानव र हात्तीबिच मात्र नभएर वन्यजन्तु र मानवबिच द्वन्द्व बढेको छ । सडक दुर्घटनामा मात्र नौ वटा वन्यजन्तु मरेका छन् ।” डिभिजन वनको तथ्याङ्क अनुसार वन्यजन्तु सहरबजारमा समेत पुग्न थालेका छन् । त्यस्ता वन्यजन्तुलाई उद्धार गरी सुरक्षित स्थानमा पु-याइएको छ । आव २०८०/८१ मा मात्रै ३५ वटा विभिन्न प्रजातिका वन्यजन्तु उद्धार गरी वनमा छोडिएको छ ।  

आव २०७०/७१ देखि हालसम्म सरकारले हात्तीपीडितका लागि क्षतिपूर्तिबापत ७४ लाख २९ हजार ५७७ रुपियाँ खर्च गरेको छ । उत्तरी मोरङका केराबारी, सुन्दरहरैँचा, लेटाङ र मिक्लाजुङका ७५ परिवार यो अवधिमा हात्तीबाट पीडित भएका छन् । डिभिजन वनले सिफारिस गरेर दिने क्षतिपूर्तिसँगै स्थानीय तहले तत्काल दिने गरेको छ । उक्त राहतको तथ्याङ्क भने वन डिभिजन कार्यालयसँगै छैन ।