अमृतप्रसाद पौडेल
म्याग्दी, माघ २९ गते । म्याग्दीको बेनीमा आयोजित १०औँ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि चुम्नबाट बेनी नगरपालिकिा बञ्चित भएको छ । बेनीमा मङ्गलबार सम्पन्न प्रतियोगितामा रघुगंगा गाउँपालिकाले ११ स्वर्णपदक सहित जिल्ला स्तरीय रनिङ शिल्ड चुमेको हो ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीमा सञ्चालित प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ४ काँस्य पदक सहित सहित रघुगंगा प्रथम हुँदै रनिङ शिल्ड पहिलो पटक बेनी नगरपालिका भन्दा बाहिर पु¥याएको छ ।
बेनी नगरपालिकाले दोश्रो स्थानमा चित्त बुझायो । बेनी नगरपालिका ७ स्वर्ण, १० रजत र ७ काँस्य पदक हात पार्दै दोश्रो भएको हो । मालिका गाउँपालिका ५ स्वर्ण, ७ रजत र ८ काँस्य पदक सहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
म्याग्दी जिल्लामा रहेका ६ वटा स्थानीय तहबाट स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम र दोश्रो स्थान हासिल गरेका विद्यार्थीहरु जिल्ला स्तरीय प्रतियोगिताका लागि आएका थिए ।
प्रतियोगितामा धवलागिरी गाउँपालिकाले ३ स्वर्ण ४ रजत र ५ कास्य सहित चौथो, अन्नपुर्ण गाउँपालिका ३ स्वर्ण, १ रजत र ४ कास्य सहित पाँचौं र मंगला गाउँपालिकाले १ स्वर्ण ३ रजत र २ कास्य सहित छैठौं भएका छन् । चालु राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स, कबड्डी र भलिबल प्रतियोगिता गरी ३० पदक गणना गरिएको थियो । उसु प्रतियोगिता सञ्चालन भएको भए पनि उसुको पदक रनिङ शिल्डका लागि गणना नगरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा एथलेटिक्स विधा तर्फका २६ स्वर्ण मध्ये ११ स्वर्ण, ५ रजत र ४ कास्य रघुगंगाले जितेको थियो । त्यस्तै ६ स्वर्ण ८ रजत र ७ कास्य बेनी नगरपालिकाले जित्दा मालिकाले ४ स्वर्ण ६ रजत र ७ कास्य हात पारेको थियो ।
एथलेटिक्स तर्फ ३ स्वर्ण र २ रजत सहित धवलागिरी गाउँपालिकाका केशवय विक उत्कृष्ट खेलाडी भएका छन् । चार स्वर्ण पदक हात पारेकी रघुगंगा गाउँपालिकाकी सविना विक उत्कृष्ट छात्रा भएकी छन् । त्यसैगरी भलिबल छात्र तर्फ अन्नपुर्ण गाउँपालिका पहिलो, धवलागिरी गाउँपालिका दोश्रो र मालिका गाउँपालिका तेश्रो भए । छात्रा तर्फ अन्नपुर्ण गाउँपालिका पहिलो, बेनी नगरपालिका दोश्रो र धवलागिरी गाउँपालिकाले तेश्रो स्थान हात पारे । भलिबलमा अन्नपुर्ण गाउँपालिकाका संगम बिक र खुशी गर्बजा उत्कृष्ट खेलाडी बनेका छन् ।
कबड्डी तर्फ बेनी नगरपालिकाका जितेन्द्र क्षेत्री र मालिका गाउँपालिकाकी सोनिका गुरुङ उत्कृष्ट खेलाडी भएका छन् । कबड्डी प्रतियोगितामा छात्र तर्फ बेनी नगरपालिका पहिलो, मालिका गाउँपालिका दोश्रो र अन्नपुर्ण गाउँपालिका तेश्रो भए । छात्रा तर्फ मालिका गाउँपालिका पहिलो, बेनी नगरपालिका दोश्रो र अन्नपुर्ण गाउँपालिका तेश्रो भएका छन् ।
प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदका लागि खेल भएको थियो । यसपटक स्वर्णपदक विजेता सहित छनौट भएका खेलाडी आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सहभागि हुनेछन् ।
भलिबलमा छात्रछात्रा १०/१० जना, कबड्डीमा १०÷१०, मार्शल आर्ट बिधाको कराँतेमा ६/६, तेक्वान्दोमा ६.६ र उसुमा ६.६ जना गरी ३६ तथा एथलेटिक्स तर्फ १२/१२ जना खेलाडीहरु प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।
त्यस्तै बेनीमै भएको १० औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड एवम् दोश्रो जिल्ला स्तरीय उसुमा ७ स्वर्ण दुई रजत र तीन कास्य पदक सहित अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ ।
त्यस्तै चार स्वर्ण एक रजत र एक कास्य सहित बेनी नगरपालिका दोश्रो हुँदा एक स्वर्ण छ रजत र एक कास्य सहित रघुगंगा गाउँपालिकाले तेश्रो स्थान हासिल गरेको म्याग्दी जिल्ला उसुका मुख्य प्रशिक्षक भगिरथ कँडेलले जानकारी दिनुभयो । उसु खेल उसुका निर्णायक सुरेस किसानको नेतृत्वमा सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।