• २९ माघ २०८१, मङ्गलबार

दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक कप : जनसेवा स्कुल र सैनिक महाविद्यालय क्‍वाटरफाइनलमा

blog

जनसेवाका सेकेण्डरी स्कुलका लागि उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बन्नुभएका मिलन सहकारीलाई ट्रफी प्रदान गर्नुहुँदै कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजेन्द्र बानियाँ । तस्बिरः एपिएफ

काठमाडौँ, माघ २९ गते। दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा जनसेवा सेकेन्डरी स्कुल र सैनिक आवासीय महाविद्यालय क्‍वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मङ्गलबार एपिएफ स्कुल कीर्तिपुरको मैदानमा भएको प्रिक्‍वाटरफाइनल अन्तर्गतको पहिलो खेलमा जनसेवा स्कुललेले डिएभी स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । डिएभीविरुद्ध जनसेवाका लागि मिलन सहकारी, अर्जुन धामी र केभिन दुलाले १-१ गोल गर्नुभयो । डिएभीका तर्फबाट लिमालयजंग बस्नेतले १ गोल फर्काउनुभयो । 

त्यसैगरी मङ्गलबार नै भएको अर्को खेलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले पुष्प सदन बोर्डिङ स्कुल, कीर्तिपुरलाई ७-० गोल अन्तरले पराजित गरेको छ । सैनिक महाविद्यालयका लागि अभिराज महतले ह्याट्रिक पूरा गर्दा इशान तमाङले दुई गोल गर्नुभयो । आवासीय स्कुलका लागि समिर खड्का र अनन्त थापाले थप १-१ गोल गर्नुभयो । 

पहिलो खेलमा प्लेयर अफ द म्याच बन्नुभएका जनसेवाका मिलन सहकारीलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजेन्द्र बानियाँ र दोस्रो खेलका प्लेयर अफ द म्याच बन्नुभएका सैनिक महाविद्यालयका अभिराज महतलाई एपिएफ स्कुल, कीर्तिपुरका प्रधानाचार्य युवराज पराजुलीले ट्रफी प्रदान गर्नुभयो । 

प्रतियोगितामा बुधबार प्रिक्‍वाटरफाइनल  अन्तर्गत  नेपाल एपिएफ स्कुल, कीर्तिपुर 'ए' र जेम्स स्कुल प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगितामा उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट एक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट एक गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको फाइनल फागुन ८ गते हुनेछ। प्रतियोगिताको विजयी टिमले ६० हजार रुपियाँ प्राप्त गर्नेछ। दोस्रोले २० हजार र तेस्रो टिमले १० हजार रुपियाँ प्राप्त गर्नेछ।