• २८ फागुन २०८१, बुधबार

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

blog

सांकेतिक तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २९ गते। ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। भीरबाट लडेर एक महिला र मोटरसाइकल दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मिक्वाखोला गाउँपालिका–५ पापुङ, तिलजुङकी ४३ वर्षीया तेजकला साँवा लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ। जङ्गलमा घाँस काटेर फर्कने क्रममा घरभन्दा करिब एक किलोमिटर टाढा रहेको भीरबाट अचानक लडेर लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।

यस्तै मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुका ४४ वर्षीय गणेशमान एभेङ लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। लिम्बू थिङ्लाबुस्थित सिंहकाली माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्थ्यो। उहाँको विराटनगरमा उपचारको क्रममा सोमबार मृत्यु भएको मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो।

डेढ साता अघि मोटरसाइकल दुर्घटनामा परी लिम्बू गम्भीर घाइते हुनुभएको थियो। मृतक लिम्बूको शव मङ्गलबार  साँझसम्ममा ल्याउने र गाउँमै दाहसंस्कार गर्ने तयारी रहेको स्थानीय सूर्यमान ओख्राबुले जानकारी दिनुभयो। 

यता पाथीभरा बहुमुखी क्याम्पसले शोक वक्तव्य जारी गर्दै माघ ३० गते बुधबारका दिन शोक बिदा दिएको छ। क्याम्पस प्रमुख सजन पौडेलका अनुसार दुर्घटनामा परी दिवंगत हुनुभएका लिम्बू पाथीभरा बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमएड दोस्रो सेमेष्टरमा अध्ययनरत रहनुभएकाले बुधबार क्याम्पस बिदा दिइएको हो।