• २९ माघ २०८१, मङ्गलबार

पर्यटन प्रवर्धन गर्न देवचुलीमा महोत्सव

blog

नवलपुरको दलदलेमा सञ्चालन हुने देवचुली महोत्सवको बारेमा जानकारी गराइँदै ।

मीना कंडेल

कावासोती, माघ २९ गते । नवलपुरको दलदलेमा देवचुली महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई प्राथमिकतामा राखी महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समृद्ध र समुन्नत नगरको उदय भन्ने मूल नाराका साथ पाँचौ देवचुली महोत्सव हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई देवचुली क्षेत्रको विशेषता बुझाउने, स्थानीय उत्पादन तथा सेवाहरू प्रवर्धन गर्ने, व्यावसायीलाई व्यवसाय विस्तारका लागि अवसर प्रदान गर्ने मुख्य लक्ष्य रहेको सङ्घका संस्थापक अध्यक्ष धर्मदत्त बस्यालले बताउनुभयो ।

महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, व्यापारिक स्टल, कृषि मेला, बाल उद्यान, खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम लगायतका विशेष आकर्षण रहनेछन् । व्यापारिक, कृषि पर्यटन, शिक्षा, स्वास्थ गरी १५० वटा स्टल रहने देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्यप्रसाद दवाडीले मङ्गलबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। 

महोत्सवबाट करिब १५ करोड रुपियाँ बराबरको व्यापारिक कारोबार हुने र एक लाख ५० हजार दर्शकले मेलामा प्रत्यक्ष अवालेकन गर्ने अनुमान रहेको उहाँले बताउनुभयो । जातिय विभेद, सामाजिक कुरीति र विसङ्गतिको न्यूनीकरण गरि अन्त्य गर्ने अभियानको शुभारम्भ गर्ने, व्यापारिक प्रतिष्ठानहरूलाई बालश्रम मुक्त बनाउने, साथै देवचुली, वरचुली डाँडा र नारायणी नदी किनारका क्षेत्रलाइ धार्मिक पर्यटकिय गन्तव्यको रूपमा विकास हुने अपेक्षा लिएको दवाडीले बताउनुभयो ।

महोत्सवमा बालमैत्री सामग्री प्रदर्शन , सङ्ग्रहालय प्रदर्शनी, विज्ञान कला र प्रदर्शनी, जातीय पहिचान झल्कने घर सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी, लगायतका आकर्षणहरू रहने बताइएको छ । उद्योग वाणिज्य सङ्घ देवचुलीको आयोजनामा पाँचौँ देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजक देवचुली उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।