गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २९ गते । पूर्णमान शाक्य मेमोरियल आर्ट अवार्डको तेस्रो संस्करणमा पुरस्कृत र समावेश भएका चित्र र मूर्तिकलाको काठमाडौँको बोधिसत्व ग्यालरीमा प्रदर्शन भइरहेको छ ।
केही समयअघि बोधिसत्व फाउन्डेसनले कला सङ्कलक शाक्यको स्मृतिमा पूर्णमान शाक्य मेमोरियल आर्ट अवार्डसहित नेपाली परम्परागत शैलीका चित्र र मूर्तिकलाको प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कलाकार रितेश शाहीको ‘महासिद्धि मिलारेपा’ को चित्र पहिलो भएको थियो । कलाकार देवेन्द्रमान सिङ्ख्वाल दोस्रो र शङ्खनारायण श्रेष्ठको सिर्जना ‘लोकेश्वर’ तेस्रो भएको थियो ।
प्रदर्शनीमा पुरस्कृत चित्रबाहेक कलाकार अनमोलरत्न तुलाधरको वैरोचना बुद्ध, कलाकार हरिप्रसाद वैद्यको शडाक्षरी/कडाचेरी लोकेश्वर पनि राखिएको छ । प्रदर्शनीमा कलाकार किरण जोशीको महाँकालको चित्र, सुगत शाक्यको चतुर्भुज महाँकाल, सुमन वज्राचार्यको उदर्वपद्मुखी, सुरेन्द्र शिल्पकारको वज्र भैरव, सुयोग महर्जनको महाँकाल, स्वर्निम शाक्यको भैरव, उत्सव स्थापितको सिद्धिलक्ष्मी परम्परागत चित्रकला राखिएका छन् ।
त्यसै गरी लोकेश्वर, ताराहरू, बुद्ध, मञ्जुश्री, कुबेरका कलात्मक मूर्तिकला पनि राखिएका छन् । बोधिसत्व ग्यालरीका संस्थापक अञ्जना शाक्यले दुर्लभ अवस्थामा रहेका नेपाली परम्परागत महत्व बोकेका कलाको प्रवर्धनका लागि प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले यसबाट कलाको प्रवर्धन र कलाकारको शिल्प, सिर्जना क्षमताको कदर र हौसला प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।