• २९ माघ २०८१, मङ्गलबार

नौ सय नब्बे मेगावाट राष्ट्रिय प्रसारणमा आउने

blog

छिन्चु समाचारदाता

सुर्खेत, माघ २९ गते । कर्णाली प्रदेशमा तीन निजी क्षेत्रले निर्माण गर्न लागेको जलविद्युत् आयोजनाको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सम्झौता भएको छ । निजी क्षेत्रले निर्माण गर्न लागेका तीन आयोजनाबाट उत्पादन हुने ९९० मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले निर्माण गर्ने कर्णाली कोरिडोर तीन सय केभी प्रसारण लाइनमा जोड्ने सम्झौता भएको हो । 

४२० मेगावाटको तिला–२, २३५ मेगावाटको हुम्ला कर्णाली–१ र ३३५ मेगावाटको हुम्ला कर्णाली–२ बाट उत्पादन हुने विद्युत् उक्त प्रसारण लाइनमा जोडिने छ । सम्झौतामा आयोजना प्रवर्धक कम्पनीका प्रतिनिधि रुरु जलविद्युत् परियोजना लिमिटेडका अध्यक्ष आशिष सुवेदी र ऊर्जा तिला पावर कम्पनी प्रालिका अध्यक्ष भानुभक्त पोखरेल तथा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले हुम्लाको कर्णाली नदीदेखि कालीकोटको फुकोट, सुर्खेतको बेतन हुँदै कञ्चनपुरको दोधारासम्म चार सय केभी कर्णाली कोरिडोर प्रसारण लाइन निर्माण थालनी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार प्रसारण लाइनको लम्बाइ १८१ किलोमिटर हुने छ । 

यही लाइनको फुकोट सबस्टेसनमा तिला–२ र हुम्ला सबस्टेसनमा हुम्ला कर्णाली–१, २ आयोजनाबाट उत्पादित विद्युत् जोडिने छ । कर्णाली कोरिडोर अन्तर्गतको १८५ किलोमिटर राष्ट्रिय प्रसारण लाइन विसं २०८८ भित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । १२ अर्ब रुपियाँ लागत अनुमान गरिएको प्रसारण लाइनमध्ये फुकोट हबदेखि तल्लो खण्डको ९५ किलोमिटर लाइन निर्माण सुरु भइसकेको छ ।

त्यस्तै फुकोटदेखि माथि हुम्ला हबसम्म ९० किलोमिटर लाइनको दुई वर्षभित्र अध्ययन सम्पन्न गरी निर्माणको चरणमा लैजाने योजना छ । कालीकोटमा पर्ने तिला–२ को निर्माण सन् २०३० सम्ममा सक्ने लक्ष्य राखिएको छ भने हुम्लामा पर्ने ५७० मेगावाटको हुम्ला कर्णाली–१ र २ को निर्माणसमेत छ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । 

ऊर्जा तिला पावर कम्पनी प्रालिले तिला–२, रुरु जलविद्युत् परियोजना लिमिटेडले हुम्ला कर्णाली–१ र २ आयोजनालाई निर्माण गर्न लागेका हुन् । तिला–२ को फुकोट सबस्टेसन, हुम्ला कर्णाली–१ र २ को हुम्ला सबस्टेसनमा विद्युत् जडान गर्ने गरी सम्झौता भएको छ । हुम्ला कर्णाली–१ र २ को वातावरणीय प्रभाव मूल्याङ्कन थालिएको छ । 

चिनियाँ कम्पनीले सर्भे लाइसेन्स पाएको हुम्ला कर्णाली–१ र २ को विद्युत् भारतले नकिन्ने घोषणा गरेसँगै यी आयोजना निर्माणको जिम्मा नेपाली कम्पनीले लिएका छन् । रुरु जलविद्युत् परियोजना लिमिटेडले र कर्णाली वाटर पावर प्रालिले संयुक्त रूपमा आयोजना अघि बढाउन लागेका हुन् । दुवै आयोजनाको चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो । नेपालमा लगानी गर्न नसकिने भन्दै चिनियाँ कम्पनी सिचुवान पछि हटेपछि २०७९ मा रुरु र कर्णाली वाटर पावर प्रालिले निर्माणको जिम्मा लिएका थिए । 

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५, खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुने छ । तिला–२ आयोजनाको अनुमानित लागत ४२ अर्ब १० करोड ६६ लाख रुपियाँ रहेको छ । आयोजनासँग विद्युत् खरिद सम्झौताका लागि समझदारी भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), आयोजनाको विस्तृत अध्ययन भइसकेको छ । आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

यता नेपाल विद्युत् प्राधिकरणले चार सय केभी प्रसारण लाइन जडानका लागि कालीकोटको खाँडाचक्र नगरपालिका–११, रेगिलमा जग्गा खरिद भई लाइन जडानको अध्ययनसमेत भइसकेको जनाइएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माणका लागि करिब १६ अर्ब लगानी लाग्ने प्राधिकरणले जनाएको छ ।

कालीकोटदेखि १२५ किलोमिटर लामो प्रसारण लाइन आयोजना कर्णाली प्रदेशको कालीकोट रेगिलबाट सुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोदोधारा सबस्टेसनमा जोडिने छ । त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवं दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ । त्यसमा २५६ वटा टावर रहने छन् ।

चार सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी कल्पतरु प्रोजेक्ट इन्टरनेसनल लिमिटेडसँग ११ माघ २०७९ मा आठ अर्ब लागतमा ठेक्का सम्झौता भइसकेको छ । यो आयोजना आर्थिक वर्ष २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।