माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २८ गते । चर्च ब्वाइज क्लब पोखरामा जारी २४औँ आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा सोमबार भएको खेलमा चर्च ब्वाइजले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हरायो । निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै चर्च ब्बाइज क्लबले आर्मीलाई स्तब्ध बनाएको हो ।
वैकल्पिक खेलाडीको रुपमा २५औँ मिनेटमा मैदान प्रवेश गर्नुभएका राजले भुसालले ९०औँ मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अन्तिम चारमा लग्नुभयो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले केही राम्रा अवसरलाई गोल सदुपयोग गर्न चुकेका थिए । चर्च ब्वाइजका मिलन राई म्यान अफ दि म्याच हुनुभयो ।
खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले खेल ५०/५० भएपनि स्कोर निकाल्न नसक्दा हार खेपेको बताउनुभयो । चर्चा ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले आर्मी फिजिकल र टेक्निकल्ली बलियो टिम भएको र प्रतिस्पर्धात्मक खेलमा हामीले स्कोर गर्न सकेको बताउनुभयो ।
चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिससँग खेल्नेछ । नकआउटका आधारमा सञ्चालित प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।