माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २८ गते । कैदीबन्दी र थुनुवा राख्न कास्की जिल्ला कारागारमा ४ सय २० जनाको क्षमता छ । तर कैदीबन्दी र थुनुवा गरी अहिले ७ सय ७८ जना राखिएको छ ।
२०२२ सालमा निर्माण भएको पुरानो भवनमा १ सय ८० जना राख्ने मिल्ने ठाउँ भएपनि ३ सय बढीलाई राख्नु परेको कारागारका प्रशासक राजेन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार २०७३ सालदेखि सञ्चालनमा आएको अर्को भवनमा २ सय २० जना राख्ने क्षमता भएपनि करिब ४ सयलाई राखिएको छ । कैदीबन्दी र थुनुवामा अमेरिकी, क्यानडियन, चाइनिज र भारतीय गरी १६ जना विदेशी नागरिक पनि छन् ।
क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवा हुँदा पानीको चरम समस्या भएको उहाँको भनाइ छ । “खानेपानी संस्थानले सञ्चालन गरेको बोरिङको एक धारा जोडिएको छ, त्यसले पुग्दैन," उहाँले भन्नुभयो, “मासिक १ लाख रुपियाँको पानी खपत हुँदा कारागारले धान्नै नसक्ने अवस्था भएको छ ।” पानीको समस्या समाधानका लागि भूमिगत पानी निकाल्ने बोरिङ नै सञ्चालन गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।
सुरक्षाकर्मी बस्नका लागि आवास तथा अन्य पूर्वाधार शौचालय, धारा लगायतको पनि कारागारमा समस्या रहेको उहाँको भनाइ छ । कास्की करागारमा रहेका कैदीबन्दी र थुनुवामा सबैभन्दा बढी जवर्जस्ती करणी मुद्दाका २ सय ३३, लागु औषध मुद्दाका १ सय ४७, सहकारी ठगी मुद्दाका २८ जना थुनुवा रहेको नायबसुब्बा जंकनाथ पौडेलले बताउनुभयो ।
कारागारमा ४९ जना महिला र दुई नाबालक छन् । अदालतबाट पुर्पपक्षका लागि थुनामा पठाएकोमा २ सय ५३ पुरुष र २१ महिला छन् । कारागारभित्रै फलफूल तथा चनाचट्पटे पसल, सैलुन, मुढा बुन्ने स्थान, मासु पसल, कपडा सिलाउने ठाउँ, पोत तथा पर्स बुन्ने ठाउँ छन् । कारागारका पुस्तकालय पनि छ ।
कारागारभित्रै कतिपयले उद्यमशीलतामा जोडिएर कपडा सिलाउने, फलफूल तथा चनाचट्पट बेचेर आम्दानी गरिरहेको छन् । “कारागारको क्षमता अनुसार सरकारले कैदीबन्दीको स्वास्थ्य उपचारको लागि बजेट विनियोजन गर्ने गरेको छ,”शर्माले भनुभयो,“१०-१२ लाख बजेटले ६ महिना पनि नपुग्ने अवस्था छ।” २०२२ सालमा बनेको पुरानो भवन मर्मत गर्नुपर्ने भएपनि बजेट अभावमा हुन नसकेको शर्माको भनाइ छ । शर्माका अनुसार कारागारमा प्रशासनिक भवन पनि अस्थायी प्रकृतिको भएमाले यसले पनि काममा समस्या परेको छ ।