ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २८ गते । म्याग्दीको बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ६ वटा स्थानीय तहबाट छनोट भएका खेलाडीहरुको सहभागिता छ ।
प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नगर प्रमुख केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद प्रतिभाको पहिचान र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागी खेलाडीले ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, बेनी नगरपालिकाका ईश्वर न्यौपानेले रजत र बेनीकै सुजन रानामगरले कास्य पदक जित्न सफल हुनुभयो । विजेता खेलाडीहरुलाई बेनी नगर प्रमुख सुरत केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी ढकाललगायतले पुरस्कार वितरण गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जना खेलाडीले सहभागिता जनाउने खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।