काठमाडौं, माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्बन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सूचना प्रविधिको उपयोगको विस्तार गरी सार्वजनिक सेवा प्रवाहलाई अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने नेपाल सरकारको प्रयास भए पनि यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमन लगायतका सङ्घीय कार्यालयहरुको सेवा प्रवाह अपेक्षाअनुरुप प्रभावकारी हुन नसकेको बताउनुभयो ।
प्रमुख आयुक्त राईले प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा झन् जटिल र खर्चिलो हुँदा जनताले सहज र सरल सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको जानकारी दिनुभयो । उहाँले आयोगमा परेका उजुरीहरुको विश्लेषण गर्दा सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा आवश्यकता र औचित्यको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरित योजना बिना नै खरिद कार्य गर्ने, मिलेमतोमा आयोजना छनोट गर्ने, कार्यक्रम नै सम्पन्न नगरी भुक्तानी दिने, अनुदानको दुरुपयोग गर्ने, नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा बिचौलियाको प्रवेश हुने, सेवा प्रवाहलाई अवरुद्ध गराइ मिलेमतोमा अनियमितता गर्ने जस्ता प्रवृत्ति देखिएको बताउनुभयो ।
प्रमुख आयुक्त राईले सुशासन प्रवर्द्धनका लागि सचेतना बढाउन आयोगले सुशासन सवाललगायतका कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण गर्दै आएको जानकारी दिनुभयो ।