• २९ माघ २०८१, मङ्गलबार

सरकार धार्मिक पर्यटन विकासमा प्रतिबद्ध छ : मन्त्री अधिकारी

blog

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा जारी देवघाट–महामहोत्सवमा सम्बोधन गर्नुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, माघ २८ गते ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकार धार्मिक पर्यटन विकासमा प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा जारी देवघाट–महामहोत्सवमा सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारी धार्मिक पर्यटनको प्रवर्द्धनले देशमा शान्ति कायम गर्न, मानिसलाई नैतिकवान बनाउन तथा रोजगारीमा वृद्धिमा टेवा पुग्ने भएकाले सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

साथै उहाँले देवघाट दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दिव्यधाम धार्मिक गौरवको विषय भएको हुँदा यसलाई निर्माण गर्न मन्त्रिपरिषदबाट नै सहयोगको निर्णय गराउने मन्त्री अधिकारीको भनाइ थियो ।
मन्त्री अधिकारीले देवघाट दिव्यधाम निर्माणका लागि विदेशबाट आयात गरिने मार्वलमा कर छुट दिने विषयमा मन्त्रिपरिषदबाट पारित गराउन पहल गर्ने बताउनुभयो ।

देवघाट दिव्यधामले देवघाटको धार्मिक पर्यटनमा प्रबर्द्धन हुने हुँदा सरकारले सहयोग गर्ने मन्त्री अधिकारीले बताउनुभयो । कृषि र धार्मिक पर्यटन नेपालको समृद्धिको मूख्य आधार भएकाले सरकारले प्राथमिकता दिइरहेको उहाँको भनाइ थियो ।

ईश्वरकृष्ण महाराजले मातापिता सेवाश्रम र देवघाट दिव्यधामको परिकल्पना अघि सारेर समाजमा मानवसेवाको अनुकरणीय उदाहरण प्रस्तुत गरेको मन्त्री अधिकारीले बताउनुभयो । तीन सय ६५ कोठाको संरचनासहित वृद्धवृद्धा र असहायहरूका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा मातापिता सेवाश्रम निर्माणाधीन छ । यो परियोजनाद्वारा देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक र सामाजिक सेवाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकाङ्क्षालाई अघि बढाइएको छ ।