• २८ माघ २०८१, सोमबार

सुन्दरहरैँचा विराट् एक्स्पो हुने

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, माघ २८ गते । मोरङको सुन्दरहरैँचा १०, विराट चोकमा विराट् एक्स्पोको चौथो संस्करण हुने भएको छ । एक्स्पो माघ ३० देखि फागुन १० गतेसम्म हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आइतबार पत्रकार सम्मेलनमा नगर क्षेत्रमा आठ वटा सार्वजनिक शौचालय निर्माणका लागि वाणिज्य सङ्घले एक्स्पोको आयोजना गर्दै आएको छ । नगरमा यसअघि दुई वटा सार्वजनिक शौचालय निर्माण भइसकेका छन् भने दुई वटा निर्माणधीन छन् । 

नगरको हरैँचा र खोर्सानेमा निर्माणाधीन सार्वजनिक शौचालयलाई पूरा गर्ने र थप चार वटा निर्माण गर्ने लक्ष्यसाथ एक्स्पो आयोजना हुन लागेको सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं एक्स्पो आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताउनुभयो । 

उहाँका अनुसार १५ करोड ६२ लाखमा आठ वटा सार्वजनिक शौचालय निर्माणको डिपिआर तयार भएको थियो । जसमध्ये विराट चोक र सलकपुरमा सार्वजनिक शौचालय सञ्चालनमा आइसकेका छन् । नगरको खोर्साने र हरैँचामा सञ्चालनको अन्तिम अवस्थामा पुगेका छन् । थप चार वटा निर्माण गर्नका लागि खर्च जुटाउन एक्स्पोको आयोजना गरिएको उद्योगी दुलालले बताउनुभयो । आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले चार करोड खर्च हुने अनुमान गरिएको एक्स्पोको तीन लाख मानिसले अवलोकन गर्ने बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार एक्स्पो आयोजना गर्न चार करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।