गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २८ गते । ललितपुर पाटनबाट चार वर्षीय बालकलाई अपहरण गरी होटेलमा बन्धक बनाएको आरोपमा प्रहरीले एक भियतनामी युवकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आफूलाई भियतनामी नागरिक बताउने माई होआङ्ग किन्ह लानलाई कलङ्कीबाट पक्राउ गरेको हो ।
उनको साथबाट तीन वटा मोबाइल, एउटा ल्यापटप, २० हजार भियतनामी मुद्रा, दुई वटा भारतीय आधार कार्ड, एउटा चक्कु र काठमाडौँ–वीरगन्ज चल्ने बसको दुई वटा टिकट फेला परेको छ । जिल्ला प्रहरीपरिसर ललितपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार कलङ्कीस्थित इलाम मेची गेस्ट हाउसको कोठा नम्बर १०७ बाट प्रहरीले गत बिहीबार राति अपहृत बालकको सकुसल उद्धार गरी अपहरणमा संलग्न लानलाई पक्राउ गरेको हो ।
रेग्मीका अनुसार ललितपुरको पाटनमा सडकमा चिया बेच्ने एक महिलाको चार वर्षीय बालक पल चेपाङलाई ती युवाले लामो समय रेकी गरी ललाइफकाई अपहरण गरेको खुलेको छ । अपहृत बालकलाई कलङ्की पुर्याई होटेलमा बन्धक बनाएर भारततर्फ लैजाँदै गर्दा प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको हो ।
बालक अपहरण गर्नुपूर्व ती युवकले लामो समय रेकी गरेको र नेपाली भाषासमेत स्पष्ट र शुद्ध बोल्ने गरेको बताउँदै रेग्मीले भन्नुभयो, “घटना हेर्दा पूर्वयोजना अनुसार लामो प्रयासपछि निकै चलाखीपूर्ण रूपमा भएको देखिन्छ । यसबारे हामी मिहिन ढङ्गबाट अनुसन्धान गरिरहेका छौँ ।”
पक्राउ परेका युवकले आफू भियतनाम चाइवाङ सिटी निवासी बताएको भए पनि उनीसँग भारतीय आधार कार्डसमेत फेला परेकाले यसमा अन्य गिरोहको पनि संलग्नता हुन सक्नेतर्फ अनुसन्धान भइरहेको रेग्मीले बताउनुभयो ।
पक्राउ परेका ती भियतनामी नागरिकको अपहण शैलीको प्रारम्भिक अनुसन्धान हेर्दा घटना निकै गम्भीर प्रकृतिको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवक सन् २०२३ डिसेम्बर २७ र दोस्रो पटक सन् २०२४ अप्रिल २७ मा भारतको पन्जाबबाट सडकमार्ग हुँदै नेपाल आएका उनी काठमाडौँका विभिन्न होटेल र छात्रावासमा बस्दै नेपाली भाषा सिक्दै गरेको खुलेको छ ।