बैतडी समाचारदाता
बैतडी, माघ २७ गते । मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडक चौडा पार्ने काम सुरु भएको छ । साँघुरो सडकमा दुर्घटना बढ्न थालेपछि सडकलाई चौडा पार्ने काम सुरु भएको हो । नेपाल–भारत सीमा क्षेत्रसमेत रहेको दशरथ चन्द नगरपालिका–८ को झुलाघाटमा पटक पटक दुर्घटना हुन थालेपछि २.५ किलोमिटर सडकखण्ड चौडा पारी प्यारापिट निर्माणको काम सुरु भएको छ ।
झुलाघाट नाकाबाट बैतडीलगायत सुदूरपश्चिमका पहाडी र कर्णालीका सर्वसाधारण नेपाल–भारत आवतजावत गर्ने गरेका छन् । गत भदौमा यही सडकबाट चिप्लेर बैतडी पुर्चौडीका एक मजदुरको महाकाली नदीमा खसेर मृत्यु भएको थियो । केही वर्षअघि एक बोलेरो जिप पनि महाकाली नदीमा खसेको थियो । साँघुरो सडककै कारण दुर्घटना हुन थालेपछि चालु आर्थिक वर्षभित्र काम सम्पन्न हुने गरी सडक चौडा पार्ने काम भइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका कार्यालय प्रमुख इन्जिनियर लक्ष्मीदत्त जोशीले बताउनुभयो ।
झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २.५ किलोमिटर लामो सडकलाई पाँच मिटर चौडा पार्ने काम भइरहेको छ । एक ठाउँमा घरधनीले मुआब्जा मागेका कारण पाँच मिटर चौडा हुन सकेको छैन । बाँकी सबै ठाउँमा चौडा पारी यो वर्ष ५० मिटर जति ढलानसमेत हुने उहाँले बताउनुभयो । उहाँले सडक चौडा पार्न सङ्घीय सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरी पठाएकाले ठेक्कामार्फत निर्माणको काम अघि बढेको बताउनुभयो । ठेक्कामार्फत घटाघटीमा ६० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।